युवा वर्ष मोति पुरस्कार चापागाईं र बललाई संयुक्त रुपमा

काठमाडौँ, ४ भदौ । वि सं २०७६ को ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय शङ्कर चापागाईं धनकुटे कान्छा झापा र फुलवान बल काभ्रे लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा विसं २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित सो पुरस्कारको राशि रु ५० हजारसहित स्वर्णपदक रहेको छ ।

पुरस्कार छनौट समितिका अध्यक्ष एवम् वरिष्ठ गीतकार कालीप्रसाद रिजालको अध्यक्षतामा आज बसेको बैठकले उनिहरूलाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । यही भदौ १३ गते १५४औँ मोति जयन्तीका अवसरमा पुरस्कार तथा सम्मान अर्पण गरिने कोषका अध्यक्ष भीमबहादुर अधिकारीले जानकारी दिए ।

उक्त कोषले नेपाली भाषा साहित्यको उत्थान, श्रीवृद्धि तथा युग कवि मोतिराको विषयमा अध्ययन अनुसन्धान गर्र्दै आएको छ । हालसम्म सो पुरस्कारबाट ६७ स्रष्टा सम्मानित भइसकेको छ ।