कलापुञ्ज पाँचौँ बिहीबार देखि

काठमाडौँ, ४ भदौ । सोसाइटी अफ मोडर्न आर्टिष्ट सोमाको आयोजनामा बिहीबारदेखि चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्, बबरमहलमा यही भदौ ५–९ गतेसम्म हुने ‘कलापुञ्ज–५’ मा लैनसिंह बाङ्देलका शिष्यहरुको चित्रकला प्रदर्शनी हुने छ ।

प्रदर्शनीमा चिनीकाजी ताम्राकार, शङ्करनाथ रिमाल, शङ्करराजसिंह सुवाल, हेम पौडेल, गोविन्द डङ्गोल, श्यामलाल श्रेष्ठ, हरि खड्का, जीवन राजोपाध्याय, नरेशसुन्दर सैंजुृ, टार्जन साङ्पाङ, रत्नकाजी शाक्य, रमाराज मास्के र कान्ति न्यौपाने तथा दिवङ्गत हीरालाल डङ्गोल, कर्ण मास्के र शान्तकुमार राईका चित्र रहनेछन् ।

सोमाबाट सम्मानित हुने वरिष्ठ चित्रकार टेकवीर मुखियासमेतका गरी करीब ८५ चित्र प्रदर्शनीमा राखिनेछन् । दिवङ्गत तीन कलाकारलाई नेपाली कलाको विकास र सोमाको प्रवद्र्धनमा योगदान गरेवापत मरणोपरान्त सम्मान पनि गरिने सोमाका महासचिव जीवन राजोपाध्यायले जानकारी दिए । विसं २०६४ मा स्थापित सोमाले यसअघि चार प्रदर्शनी सम्पन्न गरिसकेको छ ।

प्रदर्शनीकै क्रममा डा यामप्रसाद शर्माद्वारा कलाकारका व्यक्तित्व र चित्रकारिता समेटी अङ्ग्रेजी भाषामा तयार गरिएको पुस्तक ‘कन्टेम्पोररी नेपाली पेन्टिङ्सः डिष्टिङ्कट क्लष्टर’ समसामयिक नेपाली चित्रकलाः एक पृथक समूह विमोचन हुनाका साथै कलाकार र कला विकासमा योगदान दिने टेकवीर मुखिया र चिनीकाजी ताम्राकारलाई लैनसिंह बाङ्देलका स्मृतिमा स्थापित ‘आधुनिक कला सम्मान’ दिइने जनाइएको छ । बीसको दशकदेखि नेपालमा आधुनिक चित्रकलाको विकासमा बाङ्देलको महत्वपूर्ण भूमिका छ ।

Loading...