पहाडमा पनि सुरु भयो डेङ्गुको सङ्क्रमण

फिदिम, ३ भदौ । पूर्वी तराईका जिल्लाहरूमा महामारीका रुपमा फैलिएको डेङ्गु रोग पहाडमै समेत सङ्क्रमण हुने गरेको पाइएको छ ।

स्वास्थ्य कार्यालय पाँचथरका अनुसार तीन महिना अघिदेखि पहाडमै रहेका स्थानीयवासीमा समेत डेङ्गुको सङ्क्रमण भेटिएको छ । डेङ्गु सङ्क्रमण गराउने लामखुट्टेले टोकेको अधिकतम तीन महिनाभित्र रोगका लक्षणहरू देखा पर्दछन् । सामान्यत लामखुट्टेले टोकेको केही हप्तामै रोगका लक्षण देखिने स्वास्थ्यकर्मीहरूको भनाइ छ । पाँचथर र तेह्रथुमबाट विगत तीन महिनादेखि तराईका जिल्लामा नगएका स्थानीयमा डेङ्गुको सङ्क्रमण भेटिएको पुष्टि भएको स्वास्थ्य कार्यालय पाँचथरका जनस्वास्थ्य अधिकृत उमेश मेहताको भनाइ छ ।

पाँचथरमा डेङ्गु सङ्क्रमणको जाँच गर्ने समर्पित अस्पतालमा सूचना अधिकारी शिशिर आङ्बो लामो समयदेखि जिल्ला बाहिर नगएका स्थानीयसमेतमा रोगको लक्षण देखिएको बताउँछन । “विगतबारे कसै–कसैले ख्याल नगर्नुभएको होला । तर सबैले त कहाँ–कहाँ गइयो भन्ने कुरा बिर्सेको हुन सक्दैन”, आङ्बोले भने “पहाडमै समेत डेङ्गुको सङ्क्रमण हुने गरेको कुरामा पुष्टि भएको छ ।”

स्वास्थ्य कार्यालय पाँचथरका अनुसार हालसम्म पाँचथर र तेह्रथुमका गरी १७ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । सङ्क्रमण भएकाहरूमध्ये १३ जना तीन महिनादेखि कहाँ रहेको भन्नेबारे स्वास्थ्य कार्यालय र अस्पतालले खोजी गरेका छन् । तेह्रमध्ये सात जनाले आफूहरू विगत तीन महिनादेखि तराईका जिल्लामा नगएको बताएको जनस्वास्थ्य अधिकृत मेहताको भनाइ छ । यसरी दाबी गर्ने सङ्क्रमित एक÷दुई जनाले भुलेको भए पनि सबैले भुल्ने वा झुठो कुरा बताउने सम्भावना नरहने दुवै निकायको दाबी छ । यही दाबीका आधारमा यी निकायले पहाडी जिल्लामैसमेत डेङ्गुको सङ्क्रमण भएको पुष्टि गरेका छन् ।

जिल्लामै रहेका मध्ये पनि फालेलुङ गाँउपालिका–२ का तीन जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । उनीहरूले आफूहरू तीन महिना अघिदेखि तराईका जिल्लामा नगएको बताएका छन् । यस्तै तेह्रथुमको आठराई गाँउपालिकाका दुई जनामा डेङ्गुको सङ्क्रमण भेटिएकोमा एक जना सङ्क्रमितले तराईका जिल्लामा नगई गाँउमै रहेको बताएका छन् । सङ्क्रमितहरूको भनाइले धेरै गर्मी हुने पाँचथर सदरमुकाम फिदिममा मात्रै नभई ग्रामीण भेगमा समेत डेङ्गुको सङ्क्रमण गराउने लामखुट्टे पाइने सम्भावना देखिएको जनस्वास्थ्य अधिकृत मेहताको भनाइ छ ।

डेङ्गुको सङ्क्रमण भएपछि एक्कासी ज्वरो आउने, एक हप्तासम्म ज्वरो आइरहने, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्ने, शरीर कटकट दुख्नेलगायत लक्षण देखा पर्दछन् । पानीको स–सानो डोपिल्का तथा सफा पानीमा समेत डेङ्गु सार्ने लामखुट्टे बस्ने र फूल पार्ने स्वास्थ्यकर्मीको भनाइ छ । दिउँसोको समयमा खुल्ला ठाँउमा नसुत्ने, घर तथा आवासको वरपर सफा राख्न सके यस प्रकारको लामखुट्टे बस्न नसक्ने भएकाले सरसफाइ र दैनिकीमा ध्यान दिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।

एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट डेङ्गु मानिसमा सर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ । यो लामखुट्टेले दिउँसोको समयमा मात्रै मानिसलाई टोक्ने गर्दछ । यो रोग मानिसबाट मानिसमा सर्दैन ।

Loading...