मनोहर माविमा नयाँ भवन

काठमाडौँ, १ भदौ । टोखा नगरपालिकास्थित मनोहर माविको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नेपाल सरकार, स्थानीय तह र अभिभावकको चन्दा सहयोगबाट निर्मित सो भवनको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आज विद्यालयमा आयोजित कार्यक्रमबीच उद्घाटन गरेका हुन ।

नगर प्रमुख अधिकारीले सामुदायिक विद्यालयलाई गुणस्तरीय र पूर्वाधार सम्पन्न बनाउन आफूहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । विनाशकारी भूकम्प जानुअघि निर्माण शुरु भएको सो १२ कोठे चारतले भवन कूल रु एक करोड ६९ लाख ९२ हजार लागतमा निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक वासुदेव अधिकारीले जानकारी दिए ।

उद्घाटनका अवसरमा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोल, काठमाडौँ जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख नन्दलाल पौडेल, वडा नं १० का अध्यक्ष मधुसुदन पाण्डेलगायतले विद्यालयको थप प्रगतिको कामना गरे। विसं २०१९ मा स्थापित सो विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म ९८५ विद्यार्थी र ५२ शिक्षक छन् ।