बनेपा, १ भदौ । प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर तामाङले संविधानमै व्यवस्था भएको अधिकारको पूर्ण कार्यान्वयनका लागि जनदबाब आवश्यक रहेकामा जोड दिएक छन ।नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजको २०औँं स्थापना दिवस तथा २५औँ तामाङ प्रसारण दिवसका अवसरमा सो संस्था र तामाङ पत्रकार सङ्घ काभ्रेपलाञ्चोक शाखाले आज बनेपामा संयुक्तरूपमा आयोजना गरेको ‘प्रदेश नं ३ को प्रस्तावित नामकरण नेवा–ताम्सालिङ’ विषयक अन्तक्र्रियामा उनले संविधानमा लेखिएको कुरा लागू गर्न जनदबाबको आवश्यक भएको र कतिपय अलिखित अधिकार पाउन पनि कठिन भएको बताए।
उनले नामाङ्कनका विषयमा उचित ढङ्गले सम्बोधन भएन भने प्रतिरोध हुनसक्ने आशङ्का पनि व्यक्त गरे । प्रदेशसभासदस्य रत्न ढकालले जनयुद्धदेखि उठाउँदै आएको जातीय, वर्गीय र सामाजिक मुद्दाको रुपमा स्थापित नामङ्कनका विषयमा आफू प्रस्तावक र समर्थक दुबै भएर प्रक्रियालाई अगाडि बढाइसकेको बताए । उनले भने “यो विषय जटिल छ, त्यसका लागि बाहिरबाट जनदबाब सिर्जना भएन भने सजिलै हुने अवस्था छैन ।”
नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का जिल्ला नेता इन्द्रबहादुर थिङले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले सो मुद्दालाई सम्बोधन नगरे विरोधमा उत्रिने बताए। अन्तर्राष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष एवं नेपाल तामाङ घेदुङका विदेश विभाग प्रमुख टासी लामा र आदिवासी जनजाति आन्दोलनका अगुवा कान्छाराम तामाङले अझैपनि संविधानमा व्यवस्था भएको विषयलाई कार्यान्वयन गर्ने अवस्था नदेखिएकाले यसैलाई लिएर पुनःआन्दोलनमा उत्रन बाध्य नपारियोस् भने।