युएनएचसीआरको उपशाखा बन्द हुने

दमक, १ भदौ । राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालय ९युएनएचसीआर०को दमकस्थित उपशाखा बन्द हुने भएको छ । भूटानी शरणार्थीको रेखदेखमा संलग्न उक्त निकाय २७ वर्षअघि स्थापना भएको थियो ।युएनएचसीआरले सन् २०२० को अन्त्यसँगै उपशाखा बन्द गर्ने जानकारी नेपाल सरकारलाई गत जेठमा दिइसकेको शरणार्थी मामिला हेर्ने गृह मन्त्रालयको केन्द्रीय शरणार्थी समन्वय एकाइले जनाएको छ ।

झापाको पूर्वीनाका काकडभिट्टा बाटो हुँदै नेपाली मूलका भूटानी भूटानबाट नेपालमा खेदेकामा तत्कालीन सरकारले सन् १९९२ मा राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगलाई पत्र लेखेपछि उक्त निकायले सहायताको काम थालेको थियो ।

आयोगको उपशाखा उठ्ने क्रममा भूटानी शरणार्थीका लागि सिमेन्ट र जस्ताका छाप्रा अर्धस्थायी घर बनाउने क्रम तीव्र पारिएको छ । उपशाखा हटने भएपछि शरणार्थीलाई शिविरमा प्रदान गरिएका कतिपय आधारभूत सेवा शिविर बाहिरका सरकारी सेवाप्रदायकबाट लिने वातावरण पनि बनाउँदै लगिएको छ ।

पुनर्वासमा तेस्रो देश लैजाने क्रम सन् २०१८ को डिसेम्बरमा बन्द भएपछि हाल दुवै शरणार्थी शिविरमा छ हजार ५०० भूटानी शरणार्थी छन् । शिविरमा बाँकी रहेका शरणार्थीको बसाइँ केही लम्बिने भएपछि युएनएचसीआरले उनीहरूका लागि अर्धस्थायी प्रकृतिका छाप्रा बनाउन थालेको बताइएको छ । यसअघि शिविरका एक लाख १३ हजार ५०० शरणार्थी अमेरिका, क्यानाडा, अष्ट्रेलिया, नेदरल्याण्ड, नर्बे, न्यूजील्याण्ड, डेनमार्क र बेलायतमा पुनर्वास भएका थिए ।

Loading...