रोजगारी प्रवद्र्धन गर्ने शिक्षा नीति ल्याउने सांसदहरुको दावी

पाल्पा, ३२ साउन । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले रोजगार प्रवद्र्धन गर्ने शिक्षा नीति ल्याउने बताएकी छिन् ।

शिक्षा नीतिका कारण बेरोजगारको सङ्ख्या बढ्दो क्रममा रहेकाले नयाँ शिक्षा नीतिले रोजगारका अवसर सिर्जना गर्ने उनको दाबी छ । नेपाल कानून समाजद्वारा आयोजित शिक्षा नीतिसम्बन्धी टाउनहल मिटिङमा आज पाल्पाको तानसेनमा सभापति घर्तीले शिक्षालाई व्यवहारिक र प्राविधिक बनाउनका लागि नीति ल्याउने बताइन् । शिक्षा क्षेत्रको परिर्वतनका लागि नीति–नियम सुधार गरी अघि बढ्न आवश्यक रहेको औँल्याइन् ।

प्रतिनिधिसभा सदस्य लक्ष्मी परियारले देशमा शिक्षा नीति राम्रो बनाउन सकेको अवस्थामा नेपाली युवाहरु विदेश पलायन हुन नपर्ने बताए । उनले ‘समृद्ध नेपाल, खुसी नेपाली’बनाउन शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन आवश्यक रहेको बताए ।

कार्यक्रममा तत्कालिन संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले सबै क्षेत्रमा समस्या हुनु गुणस्तरीय शिक्षाको अभाव रहेको बताए । उनले शिक्षा क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्नका लागि शिक्षानीति संविधानअनुकूल परिमार्जन गर्न आवश्यक रहेको बताए ।

सङ्घीय संसद्का कानूनी सल्लाहकार अर्जुन खड्काले नेपालको संविधानमा शिक्षासम्बन्धी संवैधानिक व्यवस्था र शिक्षानीतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरे । नेपाल पत्रकार महासङ्घ पाल्पा अध्यक्ष राजेशकुमार अर्याल, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसी, नेपाल शिक्षक सङ्गठनका अध्यक्ष रामप्रसाद ढकाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता धनेन्द्र घिमिरेलगायतले शिक्षानीतिसम्बन्धी सुझाव राखेका थिए।

कार्यक्रममा प्रदेश सांसद, स्थानीय तहका प्रमुख, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, राजनीतिक दलका प्रमुख, कर्मचारीको सहभागिता रहेको थियो ।

Loading...