विभिन्न घटनाका तीन अभियुक्त प्रहरीद्धारा सार्वजनिक

गलकोट, ३१ साउन । बागलुङ जिल्ला प्रहरी कार्यालयले छुटृाछुटृै मुद्दामा आरोप लागेका तीन अभियुक्तलाई आज सार्वजनिक गरेको छ । ढोरपाटन नगरपालिका–८ बोबाङ गाउँमा वृद्ध दम्पतीको हत्याका अभियुक्त मृतकका आफ्नै भाइ ६१ वर्षीय मसाने कामीलाई सार्वजनिक गरिएको हो । निजले वोबाङ गाउँमा गत साउन २५ गते राति वृद्ध दम्पतीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोप लागेको थियो ।

निज कामीले घरयासी झगडामा आवेगमा आएर वृद्ध दाइ ६४ वर्षीय भानबहादुर कामी र भाउजु ६० वर्षीया बीमाको हत्या गरेको स्वीकार गरेको उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए । अभियुक्त कामीको घरमा हत्याअगावै पाकेको मासुभात नखाएको फेला परेपछि अनुसन्धानमा सहज भएको प्रहरी प्रमुख भट्टले बताए । “घटनापश्चात् तत्कालै प्रहरीले अनुसन्धान थाल्योे”, प्रहरी प्रमुख भट्टले भने, “घटनास्थलको समयमै अध्ययन गर्न पाउँदा सफलता मिल्यो ।”

यस्तै बागलुङ नगरपालिका–७ की एक १५ वर्षीया किशोरीलाई लामो समयदेखि प्रलोभनमा पारी बलात्कार गर्दै आएको आरोपमा पक्राउ परेका सोही ठाउँका ५४ वर्षीय पतिमान सार्कीलाई गत २९ गते राति पक्राउ गरी आज सार्वजनिक गरिएको हो । निज सार्कीले किशोरीलाई ललाइफकाइ एक वर्षदेखि यौन शोषण गर्दै आएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

यस्तै लागुऔषध प्रयोग तथा कारोवारमा संलग्न रहेको आरोपमा बागलुङ बजारबाट पक्राउ गरिएका ताराखोला गाउँपालिका–१ घर भई बागलुङ नगरपालिका–२ श्रीनगरटोलमा डेरा गरी बस्ने १८ वर्षीय सुुदिन छन्ताललार्ई समेत आज सार्वजनिक गरिएको छ । छन्त्यालको साथबाट डाइजोपाम दुई एम्पुल, फेनरागन दुई एम्पुल र नुर्फिन दुई एम्पुल गरी छ थान लागुऔषधसहित २७ गते सोमबार प्रहरीले पक्राउ गरेको थियो ।