जथाभावी भ्रमणमा गरेर कर्मचारीले सिध्याए १९ कराेड

काठमाडौं, १३ भदौ । सरकारी अधिकारीले जथाभावी विदेश भ्रमण गर्दा गत वर्ष राज्य ढुकुटीको १९ करोड रुपैयाँ खर्च भएको छ । राजनीतिक र प्रशासनिक व्यक्तिहरूले बजेटमा समावेश नै नभएको कार्यक्रममा वैदेशिक भ्रमण गर्दा १८ करोड ९९ लाख ३० हजार रुपैयाँ खर्च भएको हो।

अर्थ मन्त्रालय स्रोतका अनुसार २० मन्त्रालय, मानव अधिकार आयोग, कानुन आयोग, सर्वोच्च अदालत र व्यवस्थापिका संसदका अधिकारीहरू बजेट बाहिरको कार्यक्रममा भ्रमण गर्दा उक्त रकम सकिएको हो। विदेश भ्रमणमा निजामती कर्मचारीले ३ करोड ४१ लाख ८४ हजार रुपैयाँ सकेका छन्। १५ करोड ५७ लाख ४९ हजार रुपैयाँ भने राजनीतिक व्यक्तिहरूको भ्रमणमा खर्च भएको हो।

आर्थिक वर्षको सुरुमै हुने बजेट विनियोजनभन्दा बाहिरबाट खर्च हुने गरी विदेश गई बजेट सक्नेमा परराष्ट्र मन्त्रालय अगाडि देखिन्छ। परराष्ट्रले राज्यकोषको ११ करोड ३९ लाख रुपैयाँ सकेको छ। अर्थ मन्त्रालयले भने १ करोड ९० लाख ९७ हजार रुपैयाँ बजेट खर्च गरेको स्रोतको दाबी छ।

‘बजेट निर्माणकै क्रममा वैदेशिक भ्रमणको कार्यक्रम समेटिएको हुन्छ। त्यो कार्यक्रमभन्दा बाहिर गई झन्डै १९ करोड बजेट गत वर्ष सकिएको हो,’ उक्त विवरण उपलब्ध गराउने अधिकारीले भने। बजेटमा समावेश नभए पनि मन्त्रिपरिषद् तथा सम्बन्धित कार्यालयका अख्तियारप्राप्त अधिकारीबाट स्वीकृति लिएर विदेश भ्रमण भएको हो। ‘आफ्नोअनुकूलका लागि विदेश भ्रमण गर्ने यस्तो प्रवृत्ति बर्सेनि बढदो छ,’ अर्थका ती अधिकारीले भने। उनका अनुसार बजेटमा समावेश भएको विदेश भ्रमणको विवरण सम्बन्धित मन्त्रालयसँग मात्रै हुन्छ।

अर्थ स्रोतका अनुसार आर्थिक वर्ष २०७२र७३ मा बजेट र गैरबजेट दुवै शीर्षकमा विदेश भ्रमणका लागि २१ करोड ९३ लाख रुपैयाँ खर्च भएको थियो। ‘२०७३/७४ मा भने बजेटभन्दा बाहिरबाटै १९ करोड रुपैयाँ खर्च भएकाले अनुशासनहीनता बढाउँदै लगेको पुष्टि हुन्छ,’ अर्थका ती अधिकारीले भने।

पूर्वमुख्य सचिव विमल कोइरालाका अनुसार झन्डै दशकअघि सरकारी ढुकुटीबाट खर्च गरी कर्मचारीलाई विदेश पठाउने चलन थिएन। ‘विदेशीले नै निम्तो र उसैले खर्च गर्‍यो भने पठाउने चलन थियो,’ उनले भने, ‘अहिले आफ्नै खर्चमा पनि पठाउने चलन सुरु भएको छ। तर त्यसका लागि सम्बन्धित मन्त्रालय तथा कार्यालयको मानव स्रोत विकास तथा क्षमता वृद्धिका लागि पनि बजेट विनियोजन भएको हुन्छ। त्यही बजेटभित्र रहेर खर्च गर्ने गरी विदेश पठाउनुपर्ने हो ।’

Loading...