‘अब अधिकारका लागि हतियार उठाउनु पर्दैन’: पूर्वसभामुख नेम्बाङ

इलाम, २४ साउन । संविधानसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले अब मुलुकमा अधिकारका लागि हतियार उठाउनु नपर्ने बताएका छन् । स्थानीय आदर्श माविको सूचना प्रविधि मैत्री सभा शुभारम्भ गर्दै उनले संविधान संशोधनमार्फत अधिकार पाउन सकिने भएकाले अधिकारका लागि अब कसैले लड्नु नपर्ने उल्लेख गरेका हुन् ।

“संविधान सबै दल मिलेर ल्यायौँ । त्यसरी नै संविधान संशोधनमार्फत अधिकार लिन पनि सकिन्छ”, पूर्वसभामुख नेम्बाङले भने, “मुख्य दलहरू एक ठाउँमा उभिँदा संविधान निर्माण भयो । त्यसरी नै सहकार्य गरेर अघि बढ्नुपर्ने बेला भएको छ ।”उनले जनताको सपना पूरा गर्न वर्तमान सरकार कुनै पनि हालतमा पछि नहट्ने जिकिर पनि गरे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपनेता नेम्बाङले मुलुक संविधान कार्यान्वयनको दिशातर्फ उन्मुख भएकाले सबैको सहकार्यमा संविधान कार्यान्वयन गर्नुपर्ने बताए । मुलुकको व्यवस्था बिग्रन नदिई संविधान कार्यान्वयन गर्नुपर्छ भन्दै उनले एकताबद्ध भए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा हुने उल्लेख गरे । “मैले यही विद्यालयबाट कक्षा ७ देखि एसएससीसम्म पढे । कतिपय कक्षामा त एउटै शिक्षकले धेरै विषय पनि पढाउनुहुन्थ्यो”, उनले भने, “अहिले मैले पढेको विद्यालयभन्दा खुशी लाग्छ । हामी कति विकसित भयाँै । त्यता पनि सोच्नु आवश्यक पर्छ ।”

Loading...