देशको आन्तरिक मामलामा देउवाले बाह्यपक्षलार्इ निम्त्याएको भन्दै एमालेले जनायो कडा आपत्ती

काठमाठौं, ११ भदाै । भारत भ्रमणका क्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएकाे अभिव्यक्तिले देशले शिर झुकाउनु परेकाे भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अापत्ती जनाएकाे छ । प्रम देउवाले संविधान संशोधनको विषयमा दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेकाे एमालेले जनाएकाे छ ।

एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको आन्तरिक मामलामा वाह्य पक्षलाई सङ्लग्न गराउने हानीकारक काम गरेकाे समेत ठहर गरेकाे छ । साथै यसले संविधान निर्माण गर्ने ऐतिहासिक संविधानसभा तथा सार्वभौम व्यवस्थापिका–संसदको अपमान समेत गरेको पनि एमालेले ठहर गरेको छ ।

‘संसदमा मतदान भएर विधिपूर्वक टुङ्गिइसकेको र असन्तुष्ट दलहरुले परिणाम स्वीकार गरेर निर्वाचनमा सहभागी हुन सहमत भइसकेको यथार्थलाई अवमूल्यन गर्दै संविधानको ‘स्वीकार्यता’को अनुचित विवाद उठाउनुले नेपालको संविधानप्रति स्वयं प्रधानमन्त्रीको निष्ठामाथि समेत प्रश्नचिह्न खडा गरेको बैठकले ठहर गरेको छ,’ बैठक पछि पार्टी सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तराई भूभागलाई बर्षेनी डुबानमा पार्ने तथा यो बर्षको विनाशकारी डुबानको मुख्य कारकको रुपमा रहेका भारतीय सीमामा एकतर्फी ढङ्गले बनाइएका बाँध तथा अन्य संरचनाका बिषयमा गंभीर छलफल गरी दिगो समाधान खोज्न, नेपालको व्यापार घाटा कम गर्नका लागि नेपालका कृषि तथा औद्योगिक उत्पादनहरुलाई भारतीय बजारमा सहज पहुँच सुनिश्चित गर्न, बर्षौंदेखि अधुरा रहेका परियोजनालाई यथाशीघ्र सम्पन्न गर्न एवं नेपालको राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक प्रधानमन्त्री उभिन नसकेको एमालेको ठहर छ।

नेपालले जलविद्युत लगायत नवीकरणीय उर्जाका माध्यमबाट इन्धनमा आत्मनिर्भरता हासिल गर्ने दिशामा अग्रसर भइरहेको परिप्रेक्ष्यमा प्राकृतिक तथा एलपिजी ग्यास पाइपलाइन बिछ्याउने समझदारीले नेपाललाई थप परनिर्भर बनाउने एमालेले बताएको छ। त्यसरी नै, राष्ट्रिय योजना आयोग र भारतको नीति आयोगबीच बर्षेनी नीतिगत परामर्श गर्ने वाध्यात्मक प्रावधान आवश्यक नरहेको समेत बैठकको निष्कर्ष निकालेको छ।

भ्रमणको क्रममा भएका विवादास्पद विषयमा सार्वभौम संसदमार्फत् नेपाली जनतालाई स्पष्ट पार्न एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

Loading...