सुदूरपश्चिमकाे गौरा गीतको मौलिकता हराउँदै

कञ्चनपुर, ११ भदौ । सुदूरपश्चिमको महान् पर्व गौराका परम्परागत गीतको मौलिकता हराउँदै जान थालेको छ ।

गौरा पर्वमा गाइने गीतमा आधुनिकता थपिँदै जान थालेपछि मौलिकता हराउँदै जान थालेको हो । नयाँ पुस्ताका युवाले पुरानो संस्कार र परम्परालाई जोगाउनुपर्छ भन्ने चेतनाको अभावमा पुराना गीतलाई छाड्दै पश्चिमा संस्कृतिका गीतको मिश्रण गरेर आधुनिकतालाई प्रश्रय दिन थालेपछि गीतको मौलिकतामा आधुनिकता देखिन थालेको छ । चैत, धुमारी, फाग, बालो नचाउने, ठाडो खेल, गोरया कथा, धुमारी रन्झनियालगायत गीत युवाले सिक्ने उत्सुकता नदेखाउँदा बूढापाकाको ढल्किँदो उमेरसँगै लोप हुने संघारमा पुगेको परम्परागत गीतका जानकार मनुदेवी ऐरले बताउनुभयो ।

ठाडो खेल निहुरिएर र गीतमा लय हालेर खेल्नुपर्ने भए पनि हाल गीत नृत्यको शैली नै फरक गरेर विकृत गरिएको छ । “यस खेलको खेल्ने तरिका ठाउँअनुसार फरक हुने गरेको भए पनि मौलिक शैली परम्परागत नभएर आधुनिक हुन थालेको छ” उहाँले भन्नुभयो, “डेउडामा मायापिरतीका कुरालाई बढी महत्व दिइने भएको हँुदा विगतमा समाजमा यसलाई बढी महत्व दिइँदैनथ्यो”, उहाँले भन्नुभयो, “देउता र वीरवीरङ्गनाका गीति कथालाई बढी महत्व दिइन्थ्यो । डेउडा लुकीछिपी खेतमा र वन क्षेत्रमा युवायुवतीले खेल्ने गर्दथे । हाल त्यसको ठीक उल्टो भएको छ । ”
“गौराले माइतीबाट ल्याएको कोसेलीका बारेमा वर्णन गरिएको ‘रन्झनिया’ गीतमा गहना र पहिरनको वर्णन गरिन्थ्यो”, पदमनाथ योगीले भन्नुभयो, “हाल त्यो गीत कम मात्रै सुन्न पाइन्छ ।” फाग मांगलिक कार्यका लागि र अठेबाली अष्टमीका दिन महिलाले हातको पाखुरामा समातेर लय हालेर गाइने गीत हो । ती गीतको परम्परागत मौलिकता खस्कँदै जाँदा हेर्न र सुन्नमा खासै उत्सुकता नहुने गरेको उहाँको भनाइ छ ।

‘गौराका फाग’, ‘अठेबाली,’ ‘ठाडोखेल’ काव्यात्मक लोककथन विशुद्ध डोटेली भाषाका रचना भएकाले यसको संकलन र लेखन गरेर भविष्यको पुस्ताका लागि जीवन्त राख्नुपर्ने सामाजसेवी शेरबहादुर साउदले बताउनुभयो । गौरा गीत मनोरञ्जनका लागि मात्र नभएर सामाजिक उत्थानलाई निरन्तरता दिने, पारस्परिक सद्भाव बढाउने, धार्मिक भावना जागृत गर्ने, लैङ्गिक समानताको पाठ सिकाउने, जातीय विभेद हटाउन सहायक रहेकाले यसको जगेर्नाका लागि सुदूरपश्चिमको बौद्धिक जमातले आगाडि सर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।

“ठाडो खेल खेल्दा होस् वा डेउडा खेल्दा होस् यस पर्वमा जातीय विभेद गरिँदैन” साउदले भन्नुभयो, “यस्तो संस्कृतिलाई सरकारी तवरबाट समेत बढावा दिनुपर्छ ।” पश्चिमा संस्कृतिको सिको गर्दै गौराका मौलिक गीतलाई बंग्याएर अर्कै तरिकाले उच्छृङ्खलता प्रस्तुत गरेर बजारमा एल्बम ल्याउने प्रचलन बढ्दै गएका कारण गौराका गीतको मौलिकता हराउन थालेको राघव अवस्थीले बताउनुभयो ।

डेउडामा पहिला मायाप्रीतिका कुरालाई बढी महत्व दिइने गरेको उल्लेख गर्दै शिक्षक अवस्थीले भन्नुभयो, “हाल मायापिरतीसँगै राजनीतिक व्यङ्ग, जातीय सद्भाव, चेतनामूलक सन्देशका लागि डेउडा प्रयोग हुन थालेकाले छ, यो सकारात्मक छ ।”

Loading...