जम्मू-कश्मीर मामिलालाई लिएर भारत र पाकिस्तानबीचको तनाव झन् गहिरिएको छ।
पाकिस्तानले कूटनीतिक सम्बन्धको स्तर झार्दै भारतीय उच्चायुक्तलाई निकाला गर्ने र भारतसँगको व्यापार स्थगन गर्ने जनाएको छ।
यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध लड्ने बताएका थिए।
उनले उक्त विषयलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा समेत प्रतिवाद गर्ने बताए।
आरोप
खानले भारतको निर्णयले अन्तर्राष्ट्रिय कानुन तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको बताएका छन्।
भारतले विशेष हैसियत रद्द गरेसँगै उक्त क्षेत्र पूर्ण बन्दको अवस्थामा छ।
हिमाली क्षेत्र कश्मीरमा भारत र पाकिस्तान दुवैको दाबी रहे पनि ती दुई देशले केही भागमा मात्र शासन गर्दै आएका छन्।
भारतले शासन गरेको कश्मीर क्षेत्रमा लामो समयदेखि पृथकतावादी आन्दोलन चलिरहेको छ जसका कारण तीन दशकमा हजारौँले ज्यान गुमाइसकेका छन्।
भारतले त्यस्ता आन्दोलनकारीहरूलाई पाकिस्तानले सहयोग गर्दै आएको आरोप लगाउँदै आएको छ।
पाकिस्तानले भने उक्त आरोपको खण्डन गर्दै आत्मनिर्णय चाहने कश्मीरीहरूलाई नैतिक र कूटनीतिक सहयोग मात्रै दिएको बताएको छ।
भारत सरकारले सोमवार जम्मू-कश्मीर राज्यलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेपछि शुरू भएको बहस जारी छ।
भारतले जम्मू-कश्मीरलाई विशेष दर्जा दिनुको पछाडि ऐतिहासिक कारण छ जुन सन् १८४७ मा महाराजा गुलाब सिंहले ब्रिटिश इस्ट इन्डिया कम्पनीसँग जम्मू-कश्मीर किनेदेखि शुरू हुन्छ।
खारेज गरिएको धारा ३७० को ऐतिहासिक पृष्ठभूमि बुझ्न सहजताका लागि बीबीसीले तयार गरेको समयरेखा:
बिबिसिबाट