काबुल, २२ साउन । तालिबान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा बुधबार कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार शान्ति सम्झौताको प्रयास भइरहेका बेला भएको घटनामा अन्य १४५ जना घाइते भएका छन् ।
राजधानी काबुलदेखि पश्चिमतर्फ रहेको प्रहरी कार्यालय परिसरमा स्थानीय समयअनुसार बुधबार विहान ९ बजे विस्फोटनको घटना भएको थियो ।
विस्फोटपछि प्रहरी कार्यालय क्षेत्रमा कालो धूवाँ फैलिएको स्थानीय प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।
अफगानिस्तानको गृह मन्त्रालयले तालिबान विद्रोहीहरुले कार बम विस्फोट गराएको जनाएको छ । तर तालिबान लडाकूहरुले भने लामो ट्रक बम विस्फोट गराएको दाबी गरेका छन् ।
तालिबान लडाकूहरुको दाबीको गृह मन्त्रालयले खण्डन गरे पनि अफगानिस्तानी अधिकारीहरुले भने स्वीकार गरेका छन् ।
सामाजिक सञ्जालहरुमा पनि घटनासम्बन्धी फोटोहरु फैलिएका छन् । ती फोटोहरुमा ठूलो क्षति भएको देखिएको छ ।
अफगानी अधिकारीहरुका अनुसार मृत्यु हुनेमा कम्तीमा दश जना सर्वसाधारण र चार जना प्रहरी रहेका छन् ।
घटनामा परी घाइते भएका १४५ जनामध्ये ९२ जना सर्वसाधारण रहेको अधिकारीहरुले बताएका छन् ।