भारतका पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

काठमाडौं, २१ साउन। भारतका पूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीकी वरिष्ठ नेता सुष्मा स्वराजको निधन भएको छ ।  दिल्लीको एम्स अस्पतालमा मंगलबार राती ह्दयघातको कारण  उनको निधन भएको हो । छाति दुखेपछि उनलाई मंगलवार नै अस्पताल भर्ना गरिएको थियो ।

६६ वर्षीय स्वराज २५ वर्षको उमेर देखि राजनीतिमा सक्रिय थिइन् । स्वराजले आफ्नो राजनीतिक गुरु लालकृष्ण आडवाणीलाई मान्दथिन् । स्वराज इन्दिरा गान्धीपछि भारतकी पहिलो महिला विदेशमन्त्री थिइन्।

सुष्मा स्वराज लामो समय देखि अस्वस्थ रहँदै आएकी थिइन् । उनको मृगौला प्रत्यारोपण गरिएको थियो । अस्वस्थकै कारण उनले २०१९ को लोकसभा चुनाव पनि लडेकी थिइनन् ।

२०१४ मा स्वराज भारतकी विदेशमन्त्री बनेकी थिइन् । बिजेपीको शासनका बेला उनी दिल्लीको मुख्यमन्त्री समेत बनेकी थिइन् ।  उनलाई दिल्लीको पहिलो मुख्यमन्त्री बन्ने गौरव प्राप्त भएको थियो ।

चालिस वर्षको राजनीतिक यात्रामा उनले ११ वटा चुनाव लडेकी थिइन। उनी तीन पटक विधानसभामा विजयी भएकी थिइन् भने सात पटक सा‌ंसद भएकी थिइन्। 

स्वराजले निधन हुनु केही घन्टाअघि मात्र ट्विट गरेर प्रधानमन्त्री नरेन्द्र मोदीलाई जम्मु र कश्मिर सम्बन्धी गरेको फैसलाका निम्ति बधाइ दिएकी थिइन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै  स्वराजलाई श्रद्धाञ्जली दिएका छन् ।

सुषमा स्वराजको नाममा छन् कैयौं कीर्तिमान, हेर्नुहोस्