‘सिधा कुरा जनतासँग’ कार्यक्रममा काम गरेका पत्रकार पुडासैनी मृत अवस्थामा फेला

रवि लामिछानेले संचालन गर्ने न्यूज–२४ टिभीको ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा काम गरेका एक पत्रकार मृत अवस्थामा फेला परेका छन् । हाल केहि समय अघि मात्र न्यूज–२४ छोडेर माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका हुन्।

चितवनको एक होटलमा झुण्डीएको अवस्थामा पत्रकार पुडासैनीको शव फेला परेको हो । चितवन प्रहरीका अनुसार नारायणगढ बसपार्कमा रहेको कङ्गारु होटलको एक कोठामा उनी झुण्डिएको अवस्थामा भेटिएका हुन्।

सोमबार दिउँसो करिब ३ः३० बजेको समयमा उनी कङ्गारु होटलको कोठा लिएर बास बसेका थिए । कोठा नम्बर २०२ मा बास बसेका उनी खाना खान नआएपछि बोलाउन गएका होटलका कर्मचारीले जति गर्दा पनि ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरेका थिए । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ।

खोजमुलक समाचारको रिपोर्टिग गर्ने पुडासैनीले बैदेशिक रोजगारका क्षेत्रदेखि हरेक विसंगती बिरुद्ध रिपोर्ट बनाएका थिए । उनको पछिल्लो रिपोर्ट हाइवेका होटलहरुमा हुने लूटको विषयमा केन्द्रित थियो । माउन्टेन टिभीमा उनी खोजमुलक कार्यक्रम ‘मिसन न्युज’का संचालक रहेका थिए ।

नुवाकोट बेल्कोटगढी घर भै काठमाडौंमा कार्यरत पत्रकार पुडासैनी चितवनमा आत्महत्या गरेको अवस्थामा भेटिएपछि प्रहरीले थप अनुसन्धान थालेको छ । पुडासैनीका आफन्त सम्पर्कमा आएपछि अनुसन्धानलाई सहयोग पुग्ने प्रहरीको भनाइ छ ।