सरकारको निर्णयप्रति सांसद राजेन्द्र महतोको आपत्ती : कुन राजेन्द्रको नागरिकता खारेज गरेको हो ?

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका नेता समेत रहेका सांसद राजेन्द्र महतोले सरकारप्रति आक्रोस पोखेका छन् । सरकारले सार्वजनिक गरेको नागरिकता खारेजीसम्बन्धी निर्णयप्रति उनले आक्रोस पोखेका हुन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद महतोले नागरिकता खारेजीसम्बन्धी समाचार व्यापकरुपमा प्रचारप्रसार भएको भन्दै त्यो कुन राजेन्द्र महतो हो भन्ने प्रतिप्रश्न गरेका छन् ।

‘सरकारले राष्ट्रियतासँग जोडिएको संवेदनशील विषयमा नेपाल सरकारका प्रवक्ताले नेपाल सरकारको निर्णय सार्वजनिक गर्दा राजेन्द्र महतो लगायत ८ जनाको नेपाली नागरिकता बदर गरिएको समाचार आउनु के हो त्यो ?’ महतोले आक्रोश पोख्दै भने, ‘नाम ठेगाना केही नहुने र व्यापकरुपमा प्रचार हुने । यो कुन नियतले हो ?’

उनले सरकारको नियतमाथि कडा प्रश्न उठाउदै आफ्नो मानहानी गर्न सरकार उद्दत रहेको आरोप लगाए । सरकारले यस विषयमा सार्वजनिक माफी माग्नुपर्ने सांसद महतोको माग छ ।

संसद्को विशेष समयमा बोल्ने क्रममा महतोले सभामुख कृष्णबहादुर महरा र नेकपा अध्यक्ष प्रचण्डलाई जोडेर गलत समाचार आयो भने के हुन्छ भन्ने आशयको उदाहरणलाई भने सांसदको नियमापत्तिपछि संसदको रेकर्डबाट हटाउन सभामुख महराले निर्देशन दिएका थिए ।

नेपाल सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँसकोटाले आइतबार राजेन्द्र महतोलगायत ८ जनाको नेपाली नागरिकता खारेज गरिएको निर्णय सार्वजनिक गरेका थिए ।