शङ्खरधर उद्यानको राजश्व घट्यो

काठमाडौँ, १८ साउन । शङ्खधर उद्यान तथा रानीपोखरी एकाइअन्तर्गतको शङ्खधर उद्यानको आर्थिक वर्ष २०७५/७६ को राजश्व आव २०७४/७५ को भन्दा नौ लाखले घटेको छ ।

सङ्घीयताको कार्यान्वयनसँगै उद्यानमा आउनेको सङ्ख्या घटेको उद्यानका इञ्चार्ज हरिशरण केसीले बताए । “वर्षायामको समयमा पनि अवलोकनाकर्ता कम हुने गरेका छन्”, इञ्चार्ज केशीले भने । यो वर्ष बगैँचाको केही सुधार गरिएको उनले जानकारी दिए । आव २०७४/७५ मा एक करोड २७ लाख राजश्व सङ्कलन भएको थियो ।

आव २०७५/७६ मा भने एक करोड १८ लाख २० हजार मात्र सङ्कलन भएको छ । जसमा चार लाख ९४ हजार ६८९ टिकट बिक्री भएका थिए । साधारण टिकटतर्फ ९२ लाख पच्चीस हजार, विद्यार्थी टिकटतर्फ १८ लाख १३ हजार ५००, विदेशी टिकटतर्फ दुई लाख ४४ हजार २००, एशियन टिकटतर्फ एक लाख २१ हजार ६५० र छायाङ्कनबाट तीन लाख ९१ हजार जम्मा भएको थियो ।

उद्यानमा साधारण टिकट २५, विद्यार्थी टिकट, विदेशी टिकट ७५, एशियन टिकट ५०, विदेशी चलचित्र छायङ्कनका लागि २० हजार, नेपाली चलचित्रका लागि १० हजार, म्यूजिक भिडियोका लागि पाँच हजार र व्यावसायिक फोटो सेसनका लागि ५०० दर रहेको छ ।