काठमाडौं । पृथ्वी वाहेक अन्य ग्रहहरुमा जीवनको अस्तित्व छ वा छैन भन्ने बारे लामो खोज भइरहेका बेला अमेरिकी वैज्ञानिक अनुसन्धान संस्था नासाले पृथ्वीजस्तै अर्को ग्रह भेटाएको छ । पृथ्वीबाट ३१ लाइट वर्ष टाढा भेटिएको उक्त ग्रहमा जीवनको सम्भावना रहेको नासाले जनाएको छ । त्यसका बारे अहिले व्यापक अनुसन्धान भइरहेको छ ।
नासाको अनुसन्धानमा सहयोग गरिरहेको भू–उपग्रहले इक्जो–प्लानेट अर्थात् सौर्यमण्डलभन्दा बाहिर भएको ग्रह भेट्टाएको हो । उक्त ग्रह सौर्यमण्डलका ग्रहजस्तै भएको जनाइएको छ। उक्त ग्रहले समेत सौर्यमण्डलमा रहेका ग्रहजस्तै एक तारालाई परिक्रमा गर्दछ । जसरी पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ त्यसरी नै भेटिएको नयाँ ग्रहले तारालई परिक्रमा गर्ने जनाइएको छ ।
नासाले एक वर्षदेखि पृथ्वीको दक्षिणी आकाशबाट अनुसन्धान गरिरहेको थियो। सौर्यमण्डलभन्दा बाहिर पनि ग्रह भएको अनुमानपछि यो अनुसन्धान थालिएको थियो। ३१ लाइटवर्ष टाढा ग्रह भेटिएपछि यसले सौर्यमण्डलजस्तै अन्य तहहरु भएको पत्ता लागेको छ। यस्ता ग्रहहरु कैयौं हुने अनुमान गरिएको छ। अनुसन्धान जारी राखिएको छ। यसलाई विज्ञानका क्षेत्रमा ठूलो उपलब्धि पनि मानिएको छ ।
अहिले भेटिएको ग्रह पृथ्वीजस्तै भएको जनाइएको छ। उक्त ग्रहले एम–ड्वार्फ तारालाई परिक्रमा गर्दछ। यसलाई जीज ३५७ नाम दिइएको छ । यो ग्रह पृथ्वीभन्दा ८० प्रतिशत ठूलो भएको जनाइएको छ।
केही वैज्ञानिकले यस ग्रहलाई सुपरअर्थ पनि भनेका छन्।