नर्सरी व्यवसायबाट लाखौको नाफा र रोजगारीको अवसर

विराटनगर, १८ साउन । परिश्रम र लगनशील भएर काम गर्ने हो भने आफ्नो परिवारसहित अन्यलाई पनि रोजगार दिन सकिने उदाहरण यहाँका नर्सरी व्यवसायीले दिएका छन् ।

विगत ३० वर्षदेखि सञ्चालनमा आएको विराटनगर–१० स्थित ‘न्यू वाटिका नर्सरी’ का सञ्चालक शम्भुप्रसाद सिंह र उनकी धर्मपत्नी रितादेवी सिंहले आफ्नो जीवनको लामो समय नर्सरीको बोटबिरुवा हुर्काउँदै बिताएका छन् । नर्सरीको आम्दानीबाट आफ्नो घरखर्च, छोराछोरीलाई शिक्षाका साथै पाँचजनालाई रोजगारीसमेत दिँदै आएका छन् ।

यो व्यवसाय सञ्चालनका लागि जग्गा बढी चाहिने तर थोरै लगानी भए पनि पुग्ने र मेहनत भने धेरै लाग्ने सञ्चालक सिंहको भनाइ रहेको छ । उनको नर्सरीमा हाल १०० भन्दा धेरै फलफूलको बोटबिरुवा पाइने गरेको छ । नर्सरीमा भएको फूल र बोट बिरुवा स्थानीय बासिन्दाबीच लोकप्रिय भएको र धेरैले आफ्नो घर तथा बारीका लागि खरीद गरी लैजाने गरेको सिंहले बताए । उक्त नर्सरीमा फूल र बोटबिरुवा धेरैजसो काठमाडौँ, भारतको कलकोत्ता, सिलगुडीबाट ल्याउने गरिएको छ ।

बोटबिरुवाका लागि आवश्यक पर्ने मल नर्सरीकै झरपातलाई कुयाएर, घरबाट निस्केको फोहरबाट बनाउने र नपुगे तोरीको पिना किनेर बनाउने गरेको उनले बताए । ‘वार्षिक रुपमा कति बिक्री र आम्दानी गर्नुहुन्छ’ भन्ने प्रश्नमा स्पष्ट उत्तर उनले दिएनन, अन्यलाई रोजगारी र आफ्नो परिवार सुखीसाथ पालनपोषण गर्न पुगेको उनको भनाइ रहेको छ ।

यस्तै विराटनगर–१२ स्थित हिमालय नर्सरीका सञ्चालक मोहम्मद काजिम अन्सारीले पुस्तादेखिनै यो व्यवसाय सञ्चालन गर्दै आएको योबाहेक अन्य काम गर्न पनि नआउने बताउँदै नर्सरीमा महिला र पुरुष गरेर १० जनालाई रोजगारी दिएको बताए । उनले यो व्यवसायमा धेरै मेहनत गर्नुपर्ने र सबैभन्दा समस्या वर्षामा व्यापार नहुने र घाटा हुने गरेको अनुभव व्यक्त गरे । उक्त नर्सरीमा भारतको कलकोत्ता, बनारस, लखनऊ र पुणाबाट बोटबिरुवा ल्याउने गरेको उनले जानकारी दिए ।

नर्सरी छ कट्ठा जग्गामा रहेको र यहाँबाट नेपाल तथा सीमावर्ती भारतीय क्षेत्रमा आएका मानिसले फलफूलको बिरुवा र काठको बिरुवा खरीद गरी लाने गरेको उनले बताए । नर्सरीबाट सयपत्री, गोदावारी, पिटुनिया, सालबिया र लालुपाते फूलको बिरुवा बिक्री हुने रहेको छ भने काठको बिरुवामा टिक, सफेरो आदि रहेको उनको भनाइ छ । उनले समेत वार्षिक आम्दानी भन्न चाहेनन तर दैनिक सातदेखि १५ हजारसम्मको बिरुवा बिक्री हुने गरेको अनुमान लगाउन सकिन्छ ।

यस्तै अर्को विराटनगर–१३ स्थित अर्नीका नर्सरीका सञ्चालक हीरा अन्सारीले १४ कट्ठा जग्गामा २३ वर्षदेखि नर्सरी सञ्चालन गर्दै आएका छन् । उक्त नर्सरीमा १२ देखि १४ जनासम्मलाई रोजगारी दिएको उनले बताए । नर्सरीको वडा दशैँबाट शुरु भई फागुन मसान्तसम्म फलफूल बिरुवा धेरै बिक्री हुने समय रहेको बताउँदै उनले हाल सयपत्री फूलको बिरुवा घामपानीबाट जोगाउन द्रुतगतिमा काम भइरहेको जानकारी दिए ।

तीन सयभन्दा बढी बोटबिरुवा रहेको यस नर्सरीबाट काठमाडौँ, पोखरा, हेटौँडा, धनगढीमा समेत बोटबिरुवा पठाउने गरेको उनले बताए । नर्सरीबाट वार्षिक सबै खर्च कटाएर पाँच लाख आम्दानी हुने गरेको अन्सारीको भनाइ रहेको छ ।

Loading...