फुटसलको उपाधि घरेलु टोलीलाई

काठमाडौँ, १७ साउन । प्रथम नवोदित अन्तरकलेजस्तरीय फुटसल प्रतियोगिताको उपाधि घरेलु टिमले हात पारेको छ । बिहीबारदेखि सामाखुशी फुटसलमा शुरु भएको उक्त प्रतियोगिताका २५ टिमलाई हराउँदै आज नवोदित कलेजले प्रथम स्थान हात पारेको हो ।

पेनाल्टी सुटआउटमा समृद्धि कलेज बनस्थलीलाई ४–३ गोलअन्तरले हराउँदै नवोदित कलेजले उपाधि जितेको हो । प्रथम भएसँगै नवोदित कलेजले ६१ हजार नगद मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै द्वितीय समृद्धि कलेज बनस्थलीले ३५ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा समृद्धि कलेजका विद्यार्थी आयुष घलान उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट खेलाडी घलानले पाँच हजार र ट्रफी हात पारेका छन् । विजयी टोलीलाई नवोदित कलेजका प्राचार्य राजेन्द्र अधिकारीले नगद, मेडल र प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा प्राचार्य अधिकारीले विद्यार्थीले पढाइका अतिरिक्त खेलकूदका माध्यमबाट आफ्नो भविष्य निर्माण गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताए । यस वर्षदेखि शुरु भएको उक्त प्रतियोगिता आगामी वर्षदेखि निरन्तर रुपमा आयोजना गरिने कलेजका सह–प्राचार्य जिबी अधिकारीले जानकारी दिए ।

Loading...