महानगरपालिका बनाउन ढिलाइ

नेपालगञ्ज, १६ साउन । नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउने प्रक्रियामा ढिलाइ भएको छ । “यो राजनीतिसँग पनि जोडिएको विषय भएकाले ढिलो हुनु स्वाभाविक हो । केही समयभित्रै हामी पुनः प्रयास थाल्ने छौँ”, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने।

महानगरपालिका बनाउन आवश्यक भौतिक पूर्वाधार, भौगोलिक क्षेत्र, जनसङ्ख्यालगायतका आवश्यक विषयमा छलफल भने भइरहेको उनले बताए। महानगरपालिकाको सम्भाव्यता अध्ययन तथा अन्य कामका लागि नगरसभाबाट रु २५ लाख बजेट पनि छुट्याइएको छ ।

प्रदेश नं ५ सरकारले महानगरपालिकाका लागि सारेको अवधारणाका आधारमा नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सम्भाव्यता अध्ययन शुरु गरिएको थियो । तर, शुरुको एक वर्ष केही काम गर्न खोजेकोजस्तो देखिए पनि अहिले आएर यसको गति निकै सुस्त देखिएको छ ।

नगरप्रमुख धवलशम्शेर राणाका अनुसार, प्रदेश नं ५ सरकारले बुटवल र भैरहवा, तुलसीपुर र घोराही र नेपालगञ्ज, कोहलपुर र खजुरालाई मिलाएर तीन महानगरपालिका बनाउने अवधारणा अघि सारेको छ । “आगामी स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकालाई हामी महानगरपालिका बनाइसक्ने गरी सबै पूर्वाधार जुटाइसक्छौँ”, नगरप्रमुख राणाले भने ।

नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन बाँके जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, जानकी र डुडुवा गाउँपालिकालाई गाभ्ने योजना रहेको छ ।