पर्वत, १६ साउन । विद्युत् चुहिएर आगालागी हुँदा ध्वस्त भएको यहाँको एक सामुदायिक रेडियो डेढ महीनापछि सञ्चालनमा आएको छ । गत जेठ २८ गते आगलागीबाट पूर्णरूपमा क्षति भई बन्द भएको पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो ‘रेडियो पर्वत १०३।६ मेगाहर्ज’ बुधबारदेखि पुनः सञ्चालनमा आएको हो । विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाएर साविक स्थानबाट स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको हो ।
फलेवास नगरपालिका वडा नं ५ खानीगाउँस्थित मोती सामुदायिक पुस्तकालय रहेको भवनमा रेडियोको नयाँ संरचना निर्माण गरी सम्पूर्ण प्रसारण सेवा सञ्चालन गरिएको स्टेशन म्यानेजर शङ्कर शर्माले जानकारी दिए। रेडियो पुनः प्रसारण शुभारम्भ कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले सामुदायिक रेडियोले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगरपालिका रेडियोसँगै सहकार्य गरेर अगाडि बढ्ने बताए । पछिल्लो समय सञ्चारको महत्व बढ्दै गइरहेका बेला यस रेडियोले नगरका जनतालाई सुसूचित गराउन अहम् भूमिका निर्वाह गरेको शर्माले बताए ।
फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले सञ्चारमाध्यम नगरको गहना र सम्पत्तिको रुपमा रहेको उल्लेख गर्दै यसलाई जोगाइराख्न नगरपालिकाले चौतर्फी सहयोग गर्दै जाने बताए । नगरपालिकाका प्रवक्ता टीकाराम गौडेलले सञ्चारमाध्यम कसैको दबाब र प्रभावमा नपरी सत्य, तथ्य, निष्पक्ष हुनुपर्ने बताए ।
रेडियो पुनःनिर्माणका लागि पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारी घर भई हाल अमेरिका रहनुभएका भीष्म अधिकारीले रु तीन लाख सहयोग गरेका थिए । रेडियो पुनःस्थापना गर्दा रु १५ लाख ५० हजार खर्च भएको स्टेशन म्यानेजर शर्माले जानकारी दिए ।