नेपाल र सिंगापुर बीच अघोषित फाइनल, पछिल्लो ३ खेलमा यस्तो छ हेड टु हेड नतिजा

Nepal vs Singapore

टि-२० विश्वकप छनौट अन्तर्गत अन्तिम खेलमा आइतबार नेपाल र आयोजक सिंगापुर प्रतिस्पर्धा गर्दैछन्। खेलमा जुन टिमले जित्छ त्यो टिम प्रतियोगिताको विजेता हुने हुँदा खेल अघोषित फाइनल जस्तै हो। खेल नेपाली समय बिहान ७:१५ बजे सुरु हुनेछ।

सिंगापुरलाई पराजित गरे नेपाल अक्टोबर ११ देखि युएईमा सुरु हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्नेछ।

टि-२० अन्तर्राष्ट्रिय वरियतामा सिंगापुर २३ औं स्थानमा रहेको टिम हो। प्रतियोगितामा अपराजित रहेको सिंगापुरले पहिलो खेलमा कतारलाई ३३ रनले पराजित गरेको थियो भने कुवेतसंगको दोश्रो खेल नतिजाविहिन रहंदा १/१ अंक बाँडेको थियो। तेश्रो खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो। नेपाल प्रतियोगिताको पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भएको थिए जसपछि दोश्रो खेलमा मलेसियालाई ७ विकेटले तथा तेश्रो खेलमा कुवेतलाई ७ विकेटलेनै पराजित गरेको थियो।

सिंगापुर VS नेपाल –  पछिल्लो ३ खेलमा नतिजा 

इतिहासको कुरा गर्दा नेपाल र सिंगापुरले सिंगापुरसंग हालसम्म ३ वटा टि-२० खेल खेलेको छ। त्यस मध्ये २ वटा नेपालले जितेको छ भने एउटा खेल वर्षाले नतिजाविहिन रहेको थियो। सिनियर स्तरमा हालसम्म टि-२० र एकदिवसीयमा सिंगापुरले नेपाललाई पराजित गर्न सकेको छैन।

२००९ एसीसी टि-२० ( युएई ) : नेपाल ९ विकेटले विजयी

पाँचौ स्थानको लागि भएको खेलमा टस जितेर ब्याटिंग गरेको सिंगापुरले १९.४ ओभरमा ८९ रनमै सबै विकेट गुमाएपछि नेपालले १४.२ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पछ्याएको थियो। बिनोद दास  र सन्जम रेग्मीले ३/३ विकेट लिंदै सिंगापुर इनिंग ध्वस्त बनाएका थिए। ब्याटिंगमा दिपेन्द्र चौधरीले ४९ रन ( ४० बल, ४ चौका र १ छक्का ) तथा नरेश बुढायरले ३२ रन ( ३९ बल, ३ चौका ) बनाएपछि नेपालले सहजै जित हाँसिल गरेको थियो।

Binod Bhandari

२०१३ एसीसी टि-२० ( नेपाल ) : नेपाल १२१ रनले विजयी

समुह चरणको खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले टि-२० क्रिकेटमा पहिलो पटक र अन्तिम पटक २०० रन माथिको योगफल तयार गरेको थियो।

२० ओभरमा २१०/५ को योगफल बनाउने क्रममा बिनोद भण्डारीले विस्फोटक ५४ रन ( ३४ बल, ४ छक्का र २ चौका ) बनाएका थिए। यस्तै पारस खड्काले ४४, ज्ञानेन्द्र मल्ल र प्रदिप ऐरिले समान ३०/३० , तथा शरद भेसावकरले २६ रन बनाएका थिए। २११ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ८९ रनमै सबै विकेट गुमाउन पुग्यो। बसन्त रेग्मीले ३ विकेट , शक्ति गौचनले २ विकेट  लिएका थिए।

२०१८ आईसीसी टि-२० विश्वकप छनौट एसिया ( बि ) छनौट : नतिजाविहिन

खेलमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको सिंगापुरले १७.३ ओभरमा सबै विकेट गुमाएर ८१ रन बनाएको थियो। सिंगापुरको लागि ओपनर चन्द्रमोहनले सर्वाधिक २५ रन बनाएका थिए। मनप्रित सिंह र सिधान्तले समान १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्। नेपालको बलिंगमा सन्दिप लामिछानेले ४ विकेट तथा करन केसी  र सोमपाल कामिलेले २/२ विकेट लिएका थिए।

नेपालले ब्याटिंग सुरु गर्दा ३ बल मात्रै खेलेको थियो जुन समयमा वर्षाले खेल रोकिएको थियो। खेल पुनः सुचारु हुन नपाएपछि दुवै टिमले १/१ अंक बाँडेको थियो।

संयोगले उक्त खेल पनि अघोषित फाइनल जस्तै रहेको थियो। तर वर्षाले खेल पुरा हुन नसकेपछि नेट रनरेटको आधारमा नेपाल प्रतियोगिता विजेता भएको थियो।

Loading...