बागलुङ, १० साउन । ओत लाग्न खरको झुपडी । अर्कातिर के खाने के लाउने चिन्ता । न सम्पत्ति न कमाइ । हातमुख जोड्न ज्येष्ठ नागरिकलाई सुरक्षा भत्ताको भर । यसरी नै यहाँका एक ज्येष्ठ दम्पतीको जीवन गुज्रँदै थियो ।
गलकोट नगरपालिका–९ छिसका ७८ वर्षीय चन्द्रबहादुर र उहाँकी ८० वर्षीया श्रीमती सरस्वती रामजालीको कष्टपूर्ण दैनिकी देखेर सहयोगी हात अघि बढे । खानेकुरा र बिछ्यौना नै नभएको देखेपछि गत फागुनमा स्थानीय सामाजिक संस्थाले सहायता दिए ।
वडा नं ७ मल्मको घुम्टे युवा परिवारले रु १० हजार बराबरको खाद्यान्न तथा लत्ताकपडा प्रदान ग¥यो । स्थानीय नवज्योति युवा क्लबले पनि सहयोग ग¥यो । बुढेसकालमा बेसहारा बनेका दम्पतीलाई व्यक्तिगत सहयोग पनि आउन थाल्यो ।
रामजाली दम्पतीको दयनीय अवस्थाबारे थाहा पाएपछि ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई पनि सहयोगको भावना जाग्यो । उहाँले घर निर्माणका लागि रु दुई लाख दिने निर्णय लिनुभयो । उक्त सहयोगबाट अहिले दुई कोठे घर र शौचालय बन्दैछ ।
घर निर्माणको जिम्मा नवज्योति युवा क्लबले लिएको छ । “अहिले घर निर्माणको काम भइरहेको छ”, क्लबका अध्यक्ष सुरेन्द्र केसीले भने, “एक साताभित्र काम पूरा हुन्छ ।” ‘पिलर’ राखेर भूकम्प प्रतिरोधी हिसाबले घर बनाइएको उनको भनाइ छ ।
समयमै घर पूरा भए यही वर्षायाममै रामजाली दम्पती नयाँ घरमा सर्नेछन् । घर निर्माणमा रकम अपुग भए क्लब र स्थानीयवासीले खर्च व्यवस्थापन गर्ने भएका छन् । नयाँ घर बन्ने भएपछि ज्येष्ठ दम्पती खुशी देखिएका छन् । सम्पत्ति, जग्गा केही नभएपछि दैनिक गुजारा सुरक्षाभत्ताबाट चलाउँदै आएका ती दम्पतीको एउटी छोरी मात्र बिहे गरेर गएपछि बुढ्यौलीमा बेसहारा झैँ बनेका छन् ।
“एउटा कार्यक्रममा जाँदा रामजाली दम्पतीसँग भेट भयो”, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले भने, “बस्नलाई घरसमेत नभएको कुरा सुनेपछि मैले घर बनाइदिने घोषणा गरेको थिएँ ।”
घरबारविहीन र बेसहारा दम्पतीका लागि सहयोग गर्न पाउँदा खुशी लागेको नगरप्रमुख नेपालीको भनाइ छ । नगरप्रमुख नेपालीले दिपज्योति युवा क्लबलाइ केही महीनाअघि आयोजना गरेको कार्यक्रममा रामजाली दम्पतीलाई सम्मानसमेत गरेका थिए ।
नगर प्रमुख नेपालीको सहयोग र युवा क्लव तथा स्थानीयवासीको सक्रियताले निर्माण भइरहेको नयाँ घरमा बस्न पाउने आशले ती दम्पत्ती खुसीका आँसु झार्दै भने, ‘ नगरप्रमुखसहित क्लाव र स्थानीयवासी हाम्रालागि भगवान जस्तै बनेका छन् ।’
‘एक प्रयास समाज खुशीका लागि हाम्रो अभियान अग्रजलाई सम्मान’ भन्ने मूल मन्त्र ठानेर क्लवले बेसहारा बनेका दम्पतीलाई खाद्यान्न, लत्ताकपडा र घर बनाउने अभियानमा जुटेका हुन् ।