शेयर बजार : नेप्सेमा सामान्य सुधार

काठमाडौँ, ६ साउन । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार २७१.२३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ विन्दुले बढेर २७३.५० मा पुगेको छ ।

नेप्से उकालो लाग्दा कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर रु ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद बिक्री भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार भएका कूल ११ उपसमूह मध्ये तीन उपसमूहको शेयर आरोलो लागेको छ । त्यसमा निर्जीवन बीमा कम्पनी २१.८३, जीवन बीमा ६.४ र सामूहिक लगानी कोष ०.१९ विन्दुले घटेको छ । यस्तै बैंकिङ २.३४, होटल १७.०९, विकास बैंक १.७, जलविद्युत् ५.७३, वित्त ०.८७, उत्पादन ७.४५, अन्य २.०६ र लघुवित्त ७.४८ विन्दुले बढेको छ ।

लाभकर गणना विधिका विषयमा बुझाइमा केही समस्या भएपछि लगानीकर्ता अन्योलमा परेकाले बजार अपेक्षित उकालो लाग्न नसकेको बताइएको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु दुई करोड ३६ लाख ९८ हजार ६५ बराबरको कारोबार भयो । यस्तै, सिभिल बैंक रु एक करोड ६७ लाख ८८ हजार १४२, नबिल बैंक रु एक करोड ५८ लाख ५९ हजार ९२१, शिवम् सिमेन्ट रु एक करोड ४८ लाख ५९ हजार ६०३ र नेपाल बैंक रु एक करोड १० लाख ६३ हजार ५९२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज ६.९३ प्रतिशतले कमाए । यस्तै सपोर्ट माइक्रोफाइनान्स ५.६१, प्रुडेन्सियल इन्स्योरेन्स ३.७०, नेशनल माइक्रोफाइनान्स ३.५८ र नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.९७ प्रतिशतले कमाए ।

यसैगरी माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ५.७२, समिट लघुवित्त वित्तीय संस्था ५.०९, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ४.१०, नेपाल हाइड्रो डेभलपर ३.९० र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.५५ प्रतिशतले गुमाए ।

Loading...