चितवन, ६ साउन । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चासो र चर्चाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माणकार्य मङ्गलबारबाट शुरु गरिने भएको छ ।
यही जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि काम रोकिएको थियो । सीताराम कट्टेल ध्रुर्मुश कुञ्जना घिमिरे सुन्तली फाउण्डेसनको अगुवाइमा भरतपुर महानगरपालिका–१५ रामपुरमा रङ्गशाला निर्माण थालिएको हो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल “ध्रुर्मुश”ले मङ्गलबारबाट काम शुरु गर्न लागिएको जानकारी दिए ।
कट्टेल आइसकेका छन् भने फाउण्डेसनका कर्मचारी आज चितवन आउँदै छन् । कट्टेलकाअनुसार आज बिहान रङ्गशाला निर्माण सहयोग समितिका पदाधिकारीसँगको छलफलपछि काम शुरु गर्ने सहमति भएको हो । समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार आजको बैठकमा उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, निजामती कर्मचारीलगायत जो जसले जेजति रकम रङ्गशालाका लागि बोलकवल र सङ्कलन गरेको छ, यथाशीघ्र फाउण्डेसनलाई हस्तान्तरण गरिने सहमति भएको छ ।
सातवटै पालिकामा चार दिनभित्र सहयोग समिति गठन गरी नयाँ ऊर्जाका साथ कामलाई अघि बढाउने सहमति भएको डल्लाकोटीले जानकारी दिए । गुरुयोजना बनाउने कामलाई तीव्रताका साथ अघि बढाउने पनि छलफलमा सहमति भएको छ । संयोजक डल्लाकोटीले रङ्गशाला नेपालीको सम्पत्ति हुने भएकाले सबैको साथ र सहयोगबाट नयाँ ऊर्जाका साथ काम थाल्न लागिएको बताए ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मङ्गलबारबाट फाउण्डेसनले काम अघि बढाउने भन्दै सबैलाई सहयोगका लागि आग्रह गरिन । रङ्गशला निर्माणका लागि वातावरण बनिसकेको भन्दै उनले वर्षात्को समयमा गर्न मिल्ने काम अघि बढाइने बताइन ।
आर्थिक सङ्कलन गरी पहिलो चरणमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर छिटो निर्माणको काम शुरु गर्ने योजना रहेको दाहालको भनाई छ । फाउण्डेसनका अध्यक्ष कट्टेलले विस्तृत अध्ययन प्रतिवेदनको काम जहाँ पुगेको छ, आजैबाट त्यो अघि बढ्ने जानकारी दिँदै रङ्गशालाको निर्माणस्थलको काम पनि अघि बढाइने बताइन।
बार, मैदान व्यवस्थापन र आवश्यक संरचना निर्माणका काम अघि बढाइने उनको भनाइ छ । रङ्गशाला निर्माणका लागि रु ६ करोड ५० लाख बोलकवल भएको भए पनि हालसम्म सबै रकम सङ्कलन भइसकेको छैन । फाउण्डेसनले दुवई र मलेसियामा आर्थिक सहयोगका लागि रकम सङ्कलन गर्न कार्यक्रम गरिसकेको छ ।
काम शुरु भएसँगै अन्य देशमा पनि आर्थिक सहयोगका लागि कार्यक्रम शुरु गरिने उनले जानकारी दिईन । झण्डैं रु तीन अर्ब लगानी गरेर रङ्गशाला निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिकाको पहलमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा रङ्गशाला निर्माणका लागि छुट्याएको छ ।