शिक्षक पदस्थापनमा गाईजात्रा : महिना दिन बित्दापनि माध्यमिक तहको पदस्थापन हुन सकेन

काठमाडौं । एक महिना बितिसक्दा पनि खुला प्रतिस्पर्धाबाट छानिएका माध्यमिकतहका शिक्षकहरुको पदास्थापन हुन सकेको छैन । गत जेठ मै शिक्षक सेवा आयोगले छानिएका शिक्षकहरुको सिफारिस गरिसक्दा समेत आजसम्म शिक्षकहरुको पदास्थापन हुन नसकेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ले भने आयोगले मागे भन्दा बढी संख्यामा शिक्षक सिफारिस गरेकाले पदास्थापन गर्न नसकिएको जनाएको छ । केन्द्र स्रोतका अनुसार आयोगमा ५०३ रिक्त दरबन्दी संख्या पदपुर्तीका लागि पठाइएको भएपनि आयोगले गत जेठमा एक हजार ९७ जनाको नाम सिफारिस गरेपछि पदास्थापनमा समस्या भएको हो ।

आयोगले सिफारिस गरेका थप ५९४ जना शिक्षक पदास्थापनका लागि केन्द्रले देशभरका पालिकाहरु र जिल्लाहरुमा ताकेता गर्दा कसैले पनि रिक्त स्थान नभएको, चाहियो नभनेपछि केन्द्रलाई एक महिना बितिसक्दा पनि पदास्थापन गर्न समस्या भएको हो ।

‘हामीसँग ५०३ मात्रै पद छ, बाँकी ५९४ जनालाई ७७ जिल्लामै पदस्थापन गर्न खोजेको कसैले चाहियो भनेका छैनन् । अब उनीहरुलाई कहाँ पदास्थापन गर्ने ?’ केन्द्र स्रोतले भन्यो । ‘जवर्जस्ती पठाउँदा हाजिर नै नगराउलान भन्ने डर ?’

 ‘५९४ शिक्षकलाई अब केन्द्रले कहाँ पदास्थापन गर्ने ? कसैले चाहियो भनेका छैनन् ?’ केन्द्र स्रोतले भन्यो । यिनै शिक्षकहरुका लागि स्थान खोज्दा खोज्दै पदास्थापनमा ढिलाइ भएको केन्द्रले स्पष्ट पारेको छ ।

शिक्षक सेवा आयोगले केन्द्रसँग सल्लाह नै नगरी, उनीहरुको रिक्त पद, जिल्ला नै किटान गरी ५९४ शिक्षक बढी सिफारिस गर्दा  केन्द्रलाई पदस्थापन गर्न नै मुस्किल परेको केन्द्र स्रोतले जनाएको छ ।

उता, शिक्षक सेवा आयोगले भने आयोगले आफै एउटा पनि पद बढाउन नसक्ने भन्दै केन्द्रले पठाएकै रिक्त पदसंख्यामा सिफारिस गरेको जनाएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगसँग ५०३ शिक्षक छनोट गरी पठाइदिन आग्रह गर्दा किन एक हजार ९७ जना सिफारिस गरेको ? भन्ने प्रश्नमा आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले २०७२ असोज २ देखि २०७४ फागुन सम्मको रिक्त पदसंख्या केन्द्रले भनेजत्तिकै ५०३ भएपनि आन्तरिक तर्फको विज्ञापनका २५ प्रतिशत खुलामा जाने पद जोड्दा बढी हुन गएको बताए ।

आन्तरिक तर्फ फारम नभरेर सुविधा रोजेका, परीक्षामा उत्तीर्ण नभएर पद खाली भएका र ७५ प्रतिशत दरवन्दीमा आन्तरिक विज्ञापन भएर बाँकी रहेको २५ प्रतिशत खुला पदको रित्त  दरबन्दी  जोडेर आयोगले विज्ञापन र पदास्थापनको लागि सिफारिस गरेको डा. थपलियाले स्पष्ट पारे । ‘आयोगले २०७५ असारमा ११०८ पदमा विज्ञापन खुलाएर असोजमा परीक्षा गर्दा पनि केन्द्रले केही बोलेन अहिले अन्तर्वार्ता समेत सकेर सिफारिस गरिसकेपछि बढी भयो भनेर कसरी भन्न मिल्छ ?’ डा. थपलियाले भने ।

आयोगले १४ हजार २७० आन्तरिक तर्फ र १२ हजार ७३९ पदमा खुलातर्फ विज्ञापन गरेको थियो । आन्तरिक तर्फको सबैजना पदास्थापन भइसकेका छन् ।

खुला तर्फ माध्यमिक तहमा ११०८, निम्न माध्यमिक तहमा १६३५ र प्राथमिक तहमा ९ हजार ९९६ पदमा विज्ञापन गरेको थियो । आयोगले अन्तर्वार्तापछि मावितहको १ हजार ९७ पदास्थापनको लागि सिफारिस गरिसकेको छ भने निमाविको पनि अन्तर्वार्ता सकेर हाल प्राविको अन्तर्वार्ता गरिरहेको छ । 

Loading...