नेपालको पक्षमा चीन बोलेपछि जोगिए सात सम्पदा

काठमाडौं, २ साउन । विश्व सम्पदा क्षेत्रमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदा सूचीबाट हट्ने खतरा टरेको छ । सन् २०२२ सम्ममा भूकम्पका कारण भत्किएका सम्पदाको पुनःनिर्माण सम्पन्न गरिसक्ने सर्तमा सूचीबाट हट्ने खतरा टरेको हो ।

अजरबैजानको बाकुमा भएको युनेस्कोको विश्व सम्पदा समितिको ४३औँ बैठकबाट नेपाललाई सन् २०२२ सम्मको अवधी प्राप्त भएपछि हाललाई खतरा टरेको पुरातत्व विभागको विश्व सम्पदा महाशाखाका प्रमुख डा. सुरेश श्रेष्ठले बताए ।

यसअघि संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सम्पदाको पुनःनिर्माणमा बेवास्ता जनाएको भन्दै खतराको सूचीमा सूचीकृत गर्ने चेतावनी दिएको थियो ।

अजरबैजानको बाकुमा भएको विश्व सम्पदा समितिको ४३औँ बैठकमा नौ तल्ले दरबारको पुनःनिर्माण कार्यको खासै प्रगति नभएको विवरण प्रस्तुत गरिएपछि नेपाल अप्ठ्यारोमा परेको थियो ।तर, समितिका सदस्य चीनका प्रतिनिधिले नेपाललाई साथ् दिंदै प्रस्तुत विवरण गलत भएको भनेपछि नेपाललाई राहत भएको थियो ।चिनियाँ प्रतिनिधिले नेपालले पुनःनिर्माणमा प्रगति गरिरहेको जनाएका थिए ।

सन् २०१५ मा नेपाल सरकारले ५ देखि ७ वर्षसम्ममा पुनःनिर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेकोले बैठकले सन् २०२२ सम्मको समयावधि दिइनु पर्नेमा समर्थन प्राप्त भएपछि नेपालका सम्पदा खतराको सूचीमा पर्ने सम्भावना टरेको हो । तर, यसै वर्ष युनेस्कोबाट पुनःनिर्माणको प्रगतिबारे अनुगमन गर्न टोली आउने भएको पुरातत्व विभागले बताएको छ ।

भूकम्पका कारण विश्व सम्पदा क्षेत्रका १४० वटा संरचना भत्किएकोमा हालसम्म ९४ वटाको पुनःनिर्माण भइसकेको बताइएको छ ।

Loading...