काठमाडौँ, १ साउन । नेपाली संस्कृतिमा विशेषगरी दुईवटा संक्रान्तिको विशेष महत्त्व छ, माघे र साउने। साउने संक्रान्तिसँगै नेपालीहरूका अधिकांश चाडपर्व आउने भएकाले पनि नेपाली संस्कृतिमा यसको विशेष महत्त्व छ । निरयण मानअनुसार सूर्य कर्कट राशिमा पुग्ने र दक्षिणायन हुने कारण ज्योतिष तथा धर्मशास्त्रमा यो दिनको विशेष महत्त्व छ ।
सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई कर्कट सङ्क्रान्तिका रुपमा मनाइन्छ । माघ १ गते अर्थात् मकर सङ्क्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट सङ्क्रान्तिकै दिनदेखि सुरु हुन्छ । साउन १ गते भएकाले आजको दिनलाई साउने सङ्क्रान्ति पनि भनिन्छ ।
आजका दिन कण्डारक नाम गरेको रात्रिचर (राति हिँड्ने) को पूजा गरी बलेको अगुल्टो फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतमले जानकारी दिए।
“वर्षभरका सङ्क्रान्तिमध्ये वैशाख, साउन, कात्तिक र माघ गरी चार वटालाई महत्वका साथ लिइन्छ, वैशाख र कात्तिक सङ्क्रान्तिमा दिनरात दुवै बराबर, साउने सङ्क्रान्तिका दिन लामो र माघे सङ्क्रान्तिका दिन छोटो हुने भएकाले यी चारको अन्यको तुलनमा बढी महत्व भएको हो”–उनले भने । साउने सङ्क्रान्तिपछि चाडपर्वको लहरसमेत सुरु हुन्छ ।
के हो संक्रान्ति ?
चल सौरमानको पात्रोअनुसार वर्षमा वैशाखदेखि चैतसम्मका १२ महिना छन् । ज्योतिषशास्त्र अनुसार सूर्य यी महिनामा मेषदेखि मीनसम्मका बाह्र राशिमा रहन्छ । वैशाख महिनामा सूर्य मेष राशिमा रहन्छ भने जेठमा वृष राशिमा । यसै क्रमले फागुनमा कुम्भ हुँदै चैत्रमा मीन राशिमा पुग्छ । अर्थात् सूर्यले एक राशिमा एक महिना बिताउँछ । यसरी नै सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने दिन अथवा महिनाको पहिलो दिनलाई नै संक्रान्ति भनिएको हो ।
अयनका कुरा
अयन अर्थात् सूर्यको दिशा हो । सूर्य दक्षिण र उत्तर गरी दिशामा रहन्छ । अर्थात् सूर्य जतातिर ढल्किन्छ, त्यसैलाई अयन भनिन्छ । सूर्य साउनदेखि पुससम्म ६ महिना दक्षिणतर्फ भएर रहन्छ । यसैले यो समयलाई दक्षिणायन भनिएको हो । माघदेखि असारसम्म सूर्य ६ महिनासम्म उत्तरतिर रहने भएकाले यो समयलाई उत्तरायण भनिएको हो ।
साउने संक्रान्ति आसपासदेखि दिन घट्दै जाने र रात लामो हुने विश्वास गरिन्छ । सायन मान मान्नेहरूले असारको ७ गतेतिरै दक्षिायन भएको मान्छन् । यस्तै पुसको ७ गते नै उत्तरायण भएको मान्छन् । अयन परिवर्तन साउन १ र माघ १ मै हुन्छ भन्ने पक्षलाई सायनवादीहरू मान्दैनन् ।
साउने संक्रान्तिदेखि दिन घट्दै जाने र रात लामो हुने विश्वास गरिन्छ । दक्षिणायनलाई मांगलिक कार्यका लागि उपयुक्त मानिँदैन । विवाह, व्रतबन्ध, नवगृह निर्माण–प्रवेश लगायतका मांगलिक कार्य यतिवेला गर्नुहुँदैन भन्ने मान्यता छ । मांगलिक कार्यका साथै अन्य विशेष कार्यका लागि पनि माघदेखि असारसम्मको अवधि अर्थात् उत्तरायणलाई नै उपयुक्त मानिएको छ ।
सामाजिक पक्ष
यो दिन बिहान सबेरै उठी स्नान गरी सन्ध्या–वन्दन, सूर्योपासनालगायत गरी ब्राह्मण पुरोहितबाट अयनफल सुन्ने चलन छ ।
कतिपय जातजातिले यस दिनलाई प्रकृतिको पूजा गर्ने र भविष्यको योजना बनाउने दिनका रूपमा लिन्छन् । पूर्वतिर किरातलगायतका समुदायले एकाबिहानै वन जंगलबाट फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुण्ड्याउने गर्छ । साँझपख थाल नाङ्लो र ढोल बजाइ भूतप्रेत भगाइन्छ ।
यस्तै सुदूर पश्चिमतिर पनि अगुल्टो फ्याँक्दै रोगब्याधि तथा खराब तत्त्वलाई भगाउने चलन अझै छ । काठमाडौंलगायतका स्थानमा बसोबास गर्ने नेवार समुदायले यस पर्वलाई महत्त्वका साथ मनाउँछ । साउने संक्रान्तिका अवसरमा छोरीचेलीलाई बोलाएर ख्वाउने सबैजसो समुदायमा चलन छ । सनातन धर्मअन्तर्गतका महत्त्वपूर्ण चाडपर्व पर्ने भएकाले साउने संक्रान्ति मात्र नभई पूरा महिनाकै महत्त्व छ ।
आर्थिक पक्ष
नेपाली समाजमा आर्थिक कारोबारको दृष्टिले पनि साउन १ गतेलाई विशेष दिन मानिन्छ । पैसा लेनदेन गर्नेहरूले नयाँ वर्षको शुरुको दिन साउन १ गतेलाई नै मान्छन् । नेपाल सरकारको आर्थिक वर्ष पनि यसै दिन शुरु हुन्छ । सरकारी आयव्ययको विवरण साउन १ देखि असार मसान्तसम्मका लागि हुन्छ । निजी क्षेत्रका कार्यालयहरूले पनि साउने संक्रान्तिदेखि नै नयाँ हिसाब राख्ने गर्छन् ।
यो वेला वर्षाको मध्य पर्ने भएकाले नेपाली जनजीवनमा खेतीपाती लगायतका कार्य चल्ने गर्छ । हाम्रोजस्तो कृषिप्रधान मुलुकका मानिसहरूलाई असारमा रोपेको मानोलाई कसरी मुरी बनाउने भन्ने ध्येय हुन्छ । असारमा रोपाइँ सकिएलगत्तै साउनमा कतिपय ठाउँमा धान गोड्ने कार्य शुरु हुन्छ । दुईबाली धान लाग्ने स्थानमा त हिउँदे धान भित्र्याएर वर्षे धान रोप्ने चटारो हुन्छ ।
स्वास्थ्यका दृष्टिले
लौकिक चलनअनुसार यो दिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ । निबुवा लगायतका अमिला फलफूल, कुरिलो, कुकुरडाइनो, भलायोलगायतका वनस्पतिहरू बिहानै घरमा ल्याएर राख्ने साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर अझै रहेको छ । नीम, कुरिलो, पानीसरो, तितेपाती आदि वनस्पति जम्मा पारी बलिरहेको बत्ती वा अगुल्टो चारै दिशामा मिल्काउनुलाई लुतो फ्याँकेको भनिन्छ । त्यसो गर्दा चर्मरोग नलाग्ने जनविश्वास छ ।
कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ । महिलाहरूले मेहन्दी लगाउने चलन पनि यसैबाट आएको होला भन्ने अनुमान गर्न सकिन्छ ।
असारमा अधिकांश मानिस खेतीपातीमा व्यस्त हुन्छन् । अधिकांश समय हिलोमा रहनुपर्दा आँखाले देखिने नदेखिने किराले छालामा विभिन्न समस्या निम्त्याउँछ । विशेषगरी लुतोलगायतका समस्याले सताउँछ ।
खेतबारीमा काम गर्ने क्रममा सरसफाइमा ध्यान नपुग्दा यस्ता समस्या आउँछन् । आयुर्वेदका समेत जानकार रहेका चिकित्सक सम्मोद आचार्यका अनुसार ‘सार्काेटिप्स स्क्याबी’ नामक सूक्ष्म जीवाणुबाट लुतो सर्छ । यसको उपचार हाम्रै घरआँगन, वनजंगललगायतमा पाइने जडिबुटीबाट गर्न सकिन्छ । लुतोको आधुनिक उपचारपद्धति र औषधी धेरै भए पनि आयुर्वेदिक औषधी नै उपयुक्त हुने देखिएको छ ।
चर्मरोगमा गाउँघरमा सहजै पाइने निमका विरुवा प्रयोग गर्न सकिन्छ । निमका साथै शुद्व बेसार पनि प्रयोग गर्न सकिन्छ । घ्यूकुमारीको प्रयोगले पनि धेरै चर्मरोग निको पार्न सकिन्छ । साउने संक्रान्तिमा यस्ता वनस्पति जम्मा गर्ने मात्र होइन प्रयोग गरेर लाभ लिनु पनि भनेको हो । अहिलेचाँहि यी वनस्पति शरीरमा छुवाएर मात्र बाहिर फ्याँक्ने चलन छ ।
दियो वा अगुल्टो बालेर घुमाउनुको अर्थ किराफट्यांग्रा धपाउनु हो । तितेपातीलगायत वनस्पतिलाई सुकाएर बाल्दा बर्खायाममा आउने लामखुट्टेजस्ता किराहरू निर्मूल हुन्छन् । त्यसैले हाम्रा खेतबारीमा भएका जडिबुटी चिन्न, तिनको महत्त्व बुझेर लाभ लिन तथा स्वास्थ्यप्रति सचेत बन्न साउने संक्रान्तिको विशेष महत्त्व छ ।