दोस्रो सेमीफाइनलमा आज इंग्ल्याण्ड र अष्ट्रेलिया भीड्दै

विश्वकप क्रिकेटको दोस्रो सेमीफाइनलमा आज आयोजक टिम इंग्ल्याण्ड र अष्ट्रेलिया भीड्ने भएका छन् । यो खेल बर्मिङघमस्थित एजबास्टोन रंगशालामा नेपाली समयअनुसार बिहीबार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । अस्ट्रेलियालाई हराउँदै फाइनलमा पुग्ने इंग्ल्याण्डको लक्ष्य छ ।

प्रतियोगिताअघि घरेलु टोली इंग्ल्याण्ड र भारतलाई उपाधिको मुख्य दाबेदार मानिएको थियो । लिग चरण अन्तर्गत लर्डसमा खेलिएको खेलमा प्रभावशाली अस्ट्रेलियाले इंग्ल्याण्डमाथि ६४ रनको जित हासिल गरेको थियो।

तर पाँचपल्टको उपाधि विजेता अस्ट्रेलियाले आफ्नो प्रभाव प्रतियोगिता सुरु हुनु अघि नै देखाइसकेको थियो, जतिबेला अभ्यास खेलमा उसले १२ रनको जित हासिल गरेको थियो । अर्कोतर्फ इंग्ल्याण्डको प्रदर्शनमा एक रुपताको कमी छ ।

यस प्रतियोगितामा इंग्लिस टोली मुख्यतः रन चेजमा कमजोर देखिएको छ । श्रीलंकाविरुद्ध २० रनको अप्रत्यासित हारमा इंग्ल्यान्ड २३३ रनमै समेटिएको थियो । उनीहरु अस्ट्रलियाविरुद्ध अझै उत्कृष्ट ब्याटिङको प्रयास गर्नेछन् ।

अस्ट्रेलिया पनि उपाधि रक्षा अभियानमा अधिक आत्मविश्वासी देखिएको छ । समूह चरणमा उसले २ हार ब्यहोरेको थियो । दुवै रन चेज गर्ने क्रममा ब्यहोरेको थियो । पछिल्लो खेलमा दक्षिण अफ्रिकाबिरुद्ध ३ सय २५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १० रनले हारेको थियो ।

यस खेलको विजेताले उपाधिका लागि न्यूजिल्याण्डसँग खेल्नेछ । न्युजिल्यान्डले पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै लगातार दोस्रोपटक फाइनलमा पुगेको थियो । दोस्रो सेमिफाइनल यदि अस्ट्रेलियाले जितेमा गएको संस्करणकै फाइनल दोहोरिनेछ ।

Loading...