फलफूल बोकेर आएको भारतीय ट्रक नारायणगढमा तोडफोड

चितवन, २६ असार । चितवनको नारायणगढमा एक भारतीय ट्रकमाथि तोडफोड भएको छ । नारायणगढेको क्षेत्रपुरमा रहेको महानगर ताजा तरकारी तथा फलफूल थोक बजारमा फलफूल बोकेर आएको भारतीय ट्रकमा आगजनी प्रयास समेत भएको चितवन प्रहरीले जनाएको छ ।

पछिल्लो समय भारतबाट नेपाल भित्रिने फलफल तथा तरकारीमा विषादी जाँच गर्ने भनि एकपटक गरिएको निर्णय सरकारले फिर्ता लिएपछि यसबारे अनेक हल्ला चलेका छन् । भारतीय तरकारी तथा फलफूलमा अत्यधिक विषादी प्रयोग गर्ने गरिएका भिडियोहरु समेत सामाजिक सञ्जालमा आइरहेको सन्दर्भमा सरकारले गरेको निर्णयले त्यसप्रति झनै आक्रोश बढेको छ । यसैक्रममा नारायणगढमा भारतीय ट्रकमाथि आक्रमण भएको हो । उक्त ट्रकमा भारतबाट आँप ल्याइएको बुझिएको छ ।

नारायणगढको क्षेत्रपुर तरकारी बजारमा आज बिहान तीन बजे नै यूपी ४१ ए टी २६९१ नम्वरको भारतीय मालबाहक ट्रक आइपुगेको बताइएको छ । उक्त ट्रकलाई स्कूटरमा आएका तीन जना युवाले यो बिष बोकेर आएको ट्रक हो भन्दै तोडफोड गरेको स्थानीयले बताएका छन् । उनीहरुले ट्रको अगाडिको शिशा फुटाउनुका साथै आगो लगाउने प्रयास पनि गरेका थिए । आगो लगाउने बोतलमा पेट्रोल समेत बोकेका उनीहरुले ओसिएको सलाई बाल्न नसकेपछि त्यतिकै छोडेर भागेको बताइएको छ ।

ट्रकमा पाँच टन आँप रहेको थाहा भएको फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले बताएका छन् । युवाहरुले ट्रकमा तोडफोड गर्दै आगजनीको प्रयास गरेपछि केही ब्यापारीहले प्रतिकार पनि गरेका थिए । त्यसपछि ती युवाहरु स्कुटरमै भागेको प्रत्यक्षदर्शीले बताए ।

ट्रकमा तोडफोड गर्ने को हुन भन्ने बारे एकिन नभएको चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले उनीहरुको खोजी भइरहेको जानकारी दिए ।

Loading...