सरकारका प्रभावशाली मन्त्री भाषण गर्दैछन, “भ्रष्टाचार देशको क्यान्सर हो, एड्स जस्तै हो। भ्रष्टाचार अब सहिन्न ,कसैलाई छोडिन्न ,सब भ्रष्टाचारीलाई कारबाही गरिन्छ। भ्रष्टाचार गर्यो कि गयो ,यस्लाई निमिट्यान्न पार्ने हो।”
भाषण सुनिरहेका एक श्रोतालाई सही नसक्नु भयो । मन्त्री जोडतोडले भाषण गर्दै थिए । त्यही भाषणकै बीचमा ती स्रोता प्वाक्क बालिहाले, “हैन मन्त्री ज्यू, भाषण मात्र चर्को भयो । खै त देशमा भ्रष्टाचार निमिट्यान्न भएको ?”
मन्त्री झनै कुर्लन थाले, “तपाईंले ठिक भन्नुभयो भ्रष्टाचार अझै भइरहेको छ। हामी यसलाई सिध्याउन लागेका छौ तर सिद्दिने छाँट देख्दिन। आजको यो सभाबाट मलाई भ्रष्टाचार निमिट्यान्न पार्ने एउटा अचुक उपाय बताईदिनोस। म जनताको अगाडि पूर्णतया लागू गरेर देखाउने छु । किनकि म जनताको मन्त्री हुँ ।”
यत्तिकैमा एकजना सज्जनले हात उठाए । उनले हात ठड्याउँदै उठेर बोले, “मन्त्री ज्यू तपाईले केही गर्नै पर्दैन । तपाईं अरु भ्रष्टाचारीहरुलाई तह लगाउन सक्न्नुहुन्न । तर, आफैले भ्रष्टाचार नगर्न सक्नुहुन्छ। आजदेखि आफू स्वयं भ्रष्टाचार नगर्ने प्रण गर्नुहोस र आफ्नो जीवनमा लागू गर्नुहोस।”
सज्जन आफ्नो आसनमा बसे । उता मन्त्रीको अनुहार निलोकालो भयो । उनी बोल्नै सकेनन । हेरेका हेरै भए । उनले भाषणको बिट मार्न पनि सकेनन । मन्त्री मन्चमै किकर्तब्यबिमुढ भइ उभिरहे । हलमा ताली गुन्जिरह्यो।