पर्सा, १ असार । वीरगन्जमा रहेको संयुक्त भंसार जाँच चौकी आइसिपी परिसरमा एक ट्रक चालकको मृत्यु भएको छ। भारतबाटसामान लिएर आएका चालकको आइतबार बिहान आइसिपी गेटभित्रै मृत्यु भएको हो।
मृत्यु हुने भारतको बिहार छाप्रा जिल्ला सीमान–१ का करिब ४५ वर्षीय महन्थ यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। डब्लु बी ११ बी ५४१० नम्बरको मालवाहक ट्रकका चालक यादव रहेको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए।
ट्रक आइसिपीको गेटभित्र पार्किङ गरिराखेको ट्रकमा ट्रकधनी सुतेका थिए। उनीसोही ट्रकको क्याबिनमा सुतेका थिए। तर, चालक यादव गर्मी भएकोले छतमा सुत्न गएको समयमा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ। यादवको शवलाई पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले दिएको छ।
यस्तै, वीरगन्ज महानगरपालिका–२ छपकैयामा पनि करिब ३५ वर्षीय मानिसको मृत्यु भएकोछ। मृतकको सनाखत हुन नसकेको पर्साका प्रहरी उपरीक्षक शर्माले बताएका छन। उक्त शव पनि पोष्टमार्टमका लागि नारायणी अस्पतालमा नै पठाइएको छ।