वेस्ट इन्डिजको विजयी शुरुवात, पाकिस्तानको लजास्पद हार

पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ। विश्वकपको उद्घाटन खेलमा हिजो इंग्ल्याण्डले दक्षिण अफ्रीकालाई पराजित गरेको थियो।

ट्रेन्ट ब्रिजमा टस हारेर ब्याटिंग गर्ने क्रममा पाकिस्तान १०५ रनमै समेटिन पुगेपछि १०६ रनको लक्ष्य वेस्ट इन्डिजले १३.४ ओभरमै भेट्यो।

लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज ओपनर क्रिस गेलले अर्धशतकिय इनिंग खेले। ५० रन बनाएका उनले ३४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। शाइ होप ११ तथा डेरेन ब्राभो खाता नखोली आउट भए।

निकोलस पुरनले अविजित ३४ तथा शिमरन हेटमेयरले अविजित ७ रन बनाए। पुरनले १९ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

पाकिस्तानको लागि हारको बाबजुद मोहम्मद आमिरको ३ विकेट सकारात्मक बन्यो। सुरुवातमा विश्वकप खेल्ने टिममा नरहे पनि उनलाई दोश्रो चरणमा टिममा बोलाईएको थियो। आमिरले ६ ओभरमा २६ रन खर्चेर ३ विकेट लिंदा गेल, होप र ब्राभोको विकेट लिए।

पाकिस्तानको कमजोर ब्याटिंग 

पाकिस्तानलाई सानो योगफलमा समेट्न प्लेयर अफ द म्याच चुनिएका ओशेन थोमसले ४ विकेट लिए जुन क्रममा ५.४ ओभरमा २७ रन खर्चिए। यस्तै कप्तान जेसन होल्डरलले ३ विकेट ( ५-०-४२-३ ) तथा आन्द्रे रसेल ( ३-१-४-२ ) ले २ विकेट लिए।

 

पाकिस्तानको लागि फखार जमान र बाबर आजमले समान २२ रन, वाहब रियाजले १८ र मोहम्मद हफिजले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

२१.४ ओभरमा पाकिस्तान समेटिएको थियो।

इतिहासकै दोश्रो कम योगफल 

विश्व कप क्रिकेट इतिहासमा पाकिस्तानको यो दोश्रो सबैभन्दा कम योगफल हो। यस अघि पाकिस्तानले सन् ११९२ को विश्वकपमा इंग्ल्याण्डसंग ७४ रनमा सबै विकेट गुमाएको थियो। वेस्ट इन्डिजसंगको १०५ रन पाकिस्तानको दोश्रो खराब प्रदर्शन हो।

विश्वकप क्रिकेटमा सन् २००३ मा क्यानडाले ३६ रनमा श्रीलंकासंग सबै विकेट गुमाएको थियो जुन हालसम्मकै सबैभन्दा कम योगफल हो। क्यानडालेनै १९७९ को विश्वकपमा इंग्ल्याण्डसंग बनाएको ४५ रन दोश्रो तथा नामिबियाले बनाएको ४५ रन तेश्रो स्थानमा रहेको छ।

Loading...