भक्तपुरको करिव १ सय ६३ रोपनी सरकारी जग्गा फिर्ता लिन सांसद बस्नेतको निर्देशन

देशभर सरकारी जग्गाको खोजी अघि बढिरहेको बेलामा भक्तपुरमा पनि मिचिएका र कब्जा गरिएका सरकारी जग्गाको खोजी शुरु भएको छ । पूर्वमन्त्री समेत रहेका भक्तपुरका सांसद महेश बस्नेतको अगुवाइमा सरकारी जग्गाको खोजी शुरु भएको हो ।

भक्तपुर- २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद बस्नेतले अतिक्रमित सरकारी जग्गा फिर्ता लिन मेयर र सिडिओलाई निर्देशन समेत दिएका छन । मध्यपुर थिमीका मेयर लगायतको टोली, जिल्लास्थित प्रशासनप्रमुख, प्रहरीप्रमुख , पत्रकार र स्थानीय सरोकारवालासहित भक्तपुरका अतिक्रमित जग्गा निरीक्षण गर्न पुगेका उनले उक्त निर्देशन दिएका हुन् ।

बस्नेतको नेतृत्वमा रहेको टोली मध्यपुर थिमी नगरपालिकाका चार स्थानमा करिव १ सय ६३ रोपनी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरिएको प्रमाण भेटिएपछि निरीक्षणको लागि पुगेको थियो । टोलीले कौशलटार सागबारीस्थित हनुमन्ते नदीको ६४ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गरिएको तथ्यसमेत फेला पारेको बताइएको छ । हनुमन्ते र मनहरा नदीको जग्गा भू माफियाले व्यक्तिको नाममा पारेको प्रमाण भेटिएको सांसद बस्नेतले बताए ।

पूर्वभूमिसुधार मन्त्री जगन्नाथ आचार्यसमेत भक्तपुरको सरकारी जग्गा कब्जामा मुछिएका छन । मन्त्री भएको समयमा उनले आफ्नो श्रीमती विमली उपाध्यायको नाममा ५४ रोपनी दर्ता गरि बेचिएको बताइएको छ ।

सोही नगरपालिका भित्र विभिन्न सरकारी जग्गा आफ्नो नाममा गर्नेहरुमा थप आधा दर्जन बढी मानिसहरुको संलग्नता भेटिएको जानकारी प्राप्त भएको छ ।

Loading...