बर्डफ्लूका कारण एकजनाको ज्यान गयो, काठमाडौंमा व्यापक संक्रमण फैलिएको पुष्टि

काठमाण्डौ । बर्डफ्लूको संक्रमणका कारण एकजनाको ज्यान गएको छ । चरा र कुखुरालगायत पंक्षीमा देखिएको बर्डफ्लू मानिसमा पनि सरेको पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्डफ्लू (एच फाइब एन वान) बाट ज्यान गएको पुष्टि भएको हो । ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो । तर उनको श्वासप्रश्वासमा समस्या भएर गएको चैत १५ गते नै ज्यान गएको थियो ।

बिरामी भएर उपचारका लागि अस्पताल पुर्‍याइएका ती युवकको र्‍यालको परीक्षण पछि उनलाई बर्ड फ्लू भएको भन्ने पुष्टि भएको हो ।

नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो । घटनाकाे जानकारी गराउन बिहीबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरिएको थियो । मृतकको नाम भने खुलाइएको छैन । घटनापछि स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले अप्रत्यासित घटना भएकाे बताएका छन ।

कसरी सर्छ बर्ड फ्लू ?

बर्ड फ्लू संक्रमित पंक्षीहरुको प्रत्यक्ष सम्पर्कमा आउँदा यो भाइरस स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्न सक्छ । रोगी पक्षीको मासु, अन्डा, सुलीलगायत बाहिर निस्किने पदार्थबाट रोग सर्छ । मासु चलाउँदा वा खोरमा काम गर्दा पनि रोग सर्छ ।

फिरन्ते चराको सम्पर्कबाट स्थानीय चरामा बर्ड फ्लू सर्छ। बर्ड फ्लू का भाइरस एउटा मानिसबाट अर्कोमा सरेको तथ्य भने अहिलेसम्म भेटिएको छैन । तर पक्षीबाट मानिसमा भने सर्ने गर्छ ।

यसबाट बच्ने केही उपायहरु

– रोगको प्रकोप भएको ठाउँमा सकेसम्म नजाने ।

– मरेका पंक्षीलाई सोझै नछुने वा नचलाउने । नजिक जानु परेमा पनि माक्स लगाएर जाने ।

– रोग लागेका पंक्षीबाट जोगिने ।

– कुखुराको मासु खान रोक लगाउने ।

– कुखुराको मासु, अण्डा खानै परेमा राम्ररी धोईपखाली गरी राम्ररी पकाएर मात्रै खाने ।