काठमाडौं । स्पेनिस फुटबल बार्सिलोनाले इंग्लिस क्लब लिभरपुलमाथि सहज जित हात पारेकाे छ । च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएकाे सेमिफाइनलको पहिलो खेलमा बार्सिलाेनाले लिभरपुललाइ पराजित गरेकाे हाे ।
बार्सिलाेनाकाे घरेलु मैदानमा भएको खेलमा बार्साले लिभरपुललाई ३-० गोलअन्तरले हरायाे । टीमको याे जितमा बार्सा कप्तान लियोनल मेस्सीले ठूलाे भूमिका खेले । उनले दुई गाेल गरे भने अर्का स्टार फरवार्ड लुइस स्वारेजले एक गोल गरे ।
खेलकाे २६ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । स्वारेजकै गोलमा बार्सिलोनाले पहिलो हाफमा १-० गोलको अग्रता बनाएको थियो । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्दै जित हात पारेको हो ।
बार्सिलोनाका लागि खेलको ७५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै २-० गोलको अग्रता दिलाए । ८२ औं मिनेटमा मेस्सीले अर्को सुन्दर गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।
खेलमा बार्सिलोनाविरुद्ध लिभरपुलले केही दबाव सिर्जना गरेको थियो । करिब ५२ प्रतिशत बल पोजिसन आफ्नो पकडमा राखे पनि बार्सिलोनाविरुद्ध लिभरपुलले गोल गर्न सकेन । यो हारसँगै लिभरपुल निकै दबावमा आएको छ । फाइनल प्रवेशका लागि बार्सिलोनालाई सहज भएको छ भने लिभरपुललाई कठिन भएको छ ।
लिभरपुलविरुद्ध दुई गोल गरेका मेस्सीले आफ्नो क्लब करिअरमा बार्सिलोनाका लागि ६०० गोल पूरा गरेका छन् ।