३७ देशका राष्ट्रप्रमुखको सहभागितामा ‘बेल्ट एण्ड रोड’ को दोश्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ । बहुचर्चित चिनियाँ नीति ‘बेल्ट एण्ड रोड फोरम’ (बिआरएफ)को दोश्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै चिनियाँ राष्ट्रपति सि जिनपिङले संयुक्त योगदान, साझा लाभ लिनुपर्नेमा जोड दिएका छन् । उच्च स्तर, दिगो विकासमा सहयोग पुग्ने भन्दै अन्य राष्ट्रलाई पनि बिआरआईमा सामेल हुन राष्ट्रपति सिले खुला आह्वान गरेका थिए ।

यता, सोही सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी समेत चीनमा छन् । सम्मेलनकै क्रममा नेपाल सरकारले रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा चिनियाँ अनुदान ल्याउने तयारी समेत अघि बढाएको छ ।

नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्बन्धी परियोजनाका ९ वटा सूची तयार पारेको छ । जसमा ल्हासादेखि काठमाडौंसम्मका अन्तरदेशीय विद्युत् प्रसारण लाइन बनाउने र नौबिसेदेखि काठमाडौंसम्म सुरुङ खन्ने प्रस्तावलगायत छन् ।

यस्तै, चिनियाँ राष्ट्रपति सी जिन पिङले ३७ देशका राष्ट्र तथा सरकार प्रमुखबीच राउन्ड टेबल बैठकमा समेत राष्ट्रपति भण्डारीले सहभागिता जनाउने बताइएको छ ।

Loading...