भक्तपुरमा राष्ट्रपतिलाई साक्षी राखेर दिइयो २० लाख

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको ऐतिहासिक नवदुर्गा नाचको अवलोकन गरेकी छन् । शनिवार भक्तपुरमा राष्ट्रपति भण्डारीले दिउसोमा नवदुर्गाको दुर्लभ नाच अवलोकन गर्ने अवसर प्राप्त गरेकी हुन् ।

प्राय दिउसोको समयमा नहुने यो नाच शनिवार दिउसो भक्तपुर उद्योग बाणिज्य संघको आयोजनामा भएको थियो । उक्त नाच अवलोकनको लागि प्रमुख अतिथिको रुपमा पुगेकी भण्डारीले नाच अवलोकन गर्नुका साथै पुजाअर्चना र भेटी दान समेत गरेकी थिइन् । उनीसंगै भक्तपुरका सांसद महेश बस्नेत उक्त कार्यक्रममा सरिक भएका थिए । नवदुर्गा नाच हेर्नाले मनोकामना पुरा हुने र देशमा शान्ति,सहकाल र सम्वृद्धि छाउने जनबिश्वास रहिआएको पाइन्छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित राष्ट्रपति विद्यादेवी भण्डारीप्रति आयोजक सस्थाका अध्यक्ष रामप्रसाद प्रजापतिले आभार प्रकट गर्दै यसले नवदुर्गा नाचको महत्व बढाएको बताए । भक्तपुरको मौलिक उत्पादन र धार्मिक परम्परा विश्व प्रसिद्ध रहेको चर्चा गर्दै प्रजापतिले भक्तपुरको सास्कृतिक सम्वृद्धिलाई आर्थिक सम्वृद्धिसंग जोड्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका संयोजक रहेका उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले नवदुर्गा देवगणका काल भैरवलाई मुल पूजा हस्तान्तरण गरेका थिए भने कार्यक्रम संचालन नवदुर्गा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान वनमालाको रहेको थियो ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले भक्तपुरको मौलिक हस्तकला प्रदर्शनीको अवलोकन गर्नुको साथै तलेजु भवानीको समेत दर्शन गरेकी थिइन् । त्यसपश्चात जिल्ला समन्वय समिति, भक्तपुरको कार्यालय निरीक्षण गर्न पुगेकी उनले प्रतिनिधि सभा सदस्य महेश बस्नेत र जिसस प्रमुख नवराज गेलालसंग भक्तपुरबारे भलाकुसारी गर्दै केही समय बिताइन ।

अक्षयकोष स्थापना

राष्ट्रपति भण्डारीको उपस्थितिमा नवदुर्गा नाचको लागि अक्षयकोष स्थापना समेत गरिएको छ । नवदुर्गा भवानीको नाच व्यवस्थापन र संरक्षणका लागि अक्षयकोष स्थापना गारिेको जानकारी प्राप्त भएको छ । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको अग्रसरतामा रु १५ लाख र भक्तपुर उद्योग वाणिज्य संघको तर्फबाट रु ५ लाख १५ हजार गरी कूल २० लाख १५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको सो अवसरमा जानकारी गराइएको थियो ।

सांसद महेश बस्नेतले आयोजकको तर्फबाट नवदुर्गा नाचका मूल पुजारीलाई रास्ट्रपतिको उपस्थितिमा अक्षयकोष हस्तान्तरण गरेका थिए । नवदुर्गा पूजाका अवसरमा मुलपूजापछि नवदुर्गा देवगणलाई सगुनका साथै नेवारी भोजन चढाइएको थियो ।

उक्त अवसरमा प्रदेश सभाका सदस्य डा. राजेन्द्रमान श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, नेपाली सेना, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु लगायतले राष्ट्रपति भण्डारीलाई स्वागत र विदाई गरेका थिए ।

Loading...