गोंगवुमा प्रचण्ड निकट वाइसीएल नेतामाथि प्रहरीले नक्कली इन्काउन्टर गर्न खोजेको खुलासा, खुट्टामा गोली लागेपछि बचे

काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता भएको रहस्य खुलेको छ ।मंगलबार दिउँसो प्रहरीले गोली हानेर अभिलाश तामाङलाई पक्राउ गरेको थियो । उनी वाईसीएल काभ्रेका इन्चार्ज रहेको खुलासा भएको हो ।

गोंगबुस्थित होटल नक प्रा.लि.को १०४ नम्बर कोठाभित्र रहेका तामाङमाथि महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको टोलीले गोली प्रहार गरेको थियो । होटलमा हतियार लिएर बसेको सूचना आएपछि बोगटीको नेतृत्वमा टोली पठाएको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए ।

तर, प्रहरीले अहिलेसम्म उनको आपराधिक पृष्ठभूमिबारे केही बताएको छैन । यद्यपि घटनास्थलबाट हतियार बरामद भएको दाबी गरेको छ । एसएसपी लामाले भने, ‘नियन्त्रणमा लिने क्रममा पेस्तोल देखाएपछि गोली हानिएको हो । उसले पनि त्यो हतियार पहिल्यैदेखि राखेको स्वीकारेको छ ।’

प्रहरीसँग तामाङको भिडियो बयान समेत रहेको बताए । ‘मान्छे सोझो होला तर, गरेन भन्ने हुन्छ र ?’, उनले प्रश्न गरे । उनले सुन लुट्ने उद्देश्यले हतियार ल्याइएको हुनसक्ने आशंका रहेको समेत सुनाए । प्रहरीको यो दाबीसँग नेकपा काभ्रेका नेताहरुले सहमत छैनन् । उनीहरुले लामा कुखुरा पालन व्यवसायमा भएको दाबी गरेका छन् ।

वाईसीएल तत्कालीन माओवादीको युवा संगठन हो । एमाले र माओवादी मिलेर नेकपा बनेपनि भ्रातृ संगठनको एकता नभएका कारण वाईसीएल अझै अस्तित्वमा छ । खासमा मंगलबार साँझ काभ्रेका केही बहालवाला सांसद्देखि पूर्वमन्त्रीसम्मले चासो देखाएपछि मात्र उनी उनी वाईसीएलको नेता भएको खुलेको हो ।

स्रोतका अनुसार घटनापछि काभ्रेका सांसद् बमध्वज तामाङ, पूर्वराज्यमन्त्री गंगाबहादुर तामाङ लगायतले चासो राख्दै काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामा र महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहलाई फोन गरेका थिए । उनीहरुले कुनै अपराधमै संलग्न नभएको व्यक्तिलाई गोली हानेको भन्दै आक्रोश व्यक्त गरेको स्रोतको दाबी छ ।

यसैबीच सप्तरीमा बुधबार बिहानै प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएकाे मुडभेडमा दिपेन्द्र जयसवल भन्ने दीपेन्द्र जैसवाल मारिएका हुन् । प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख हरिबहादुर पालले प्रहरी मुठभेडमा उनको मृत्यु भएको पुष्टि गरे ।

 

उनका अनुसार प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीतर्फबाट पनि फायरिङ भएको थियो । सो क्रममा उनको घटनास्थलमै मृत्यु भएको पालले जानकारी दिए । जैसवालमाथि २ गोली लागेको छ । एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए । सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका उनीमाथि गोली प्रहार भएको थियो ।

उनी २०७२ सालमा प्रहरी असई रमेश सुब्बाको हत्यामा संलग्न समेत भएका अपराधी भएको बताइएको छ । त्यतिबेला उनले प्रहरीको भ्यानमाथि एम्बुस थापेर सो घटना घटाएको प्रहरीको दाबी छ । यस्तै उनी अरु विभिन्न आपराधिक कार्यमा पनि संलग्न भए पाइएको प्रहरीले जनाएको छ ।

तराईको सशस्त्र समूह गोइत समूहको पूर्वकार्यकर्ता उनले अहिले आफ्नै समूह बनाएर चन्दा असुली, हप्ता असुली गरी भूमिगत गतिविधि सञ्चालन गर्दै आएको बताइएको छ ।

Loading...