जापानको सहयोगमा पाटन माद्यमिक विद्यालय पुनर्निर्माण हुने

काठमाडौँ । जापान सरकारको सहयोगमा भूकम्पले क्षति भएको ललितपुरस्थित पाटन माध्यामिक विद्यालयको पुनर्निर्माण गरिने भएको छ ।

विद्यालयको शिलान्यास आज राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवाली र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रूपमा गर्नुभयो । विसं १९९९ मा स्थापित विद्यालय नेपालको दरबार हाई स्कूलपछिको दोस्रो हो ।

प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईले उक्त विद्यालय भवन पुनर्निर्माणका लागि पहल गरेको थियो । कार्यक्रममा प्र्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पले क्षति पु¥याएका विद्यालयमध्ये हालसम्म चार हजारको पुनर्निर्माण सम्पन्न भइसकेको जानकारी दिए ।

उनले भने, ‘‘देशकै दोस्रो पुरानो विद्यालय पुनर्निर्माणको काम शुरु हुँदा खुशी छु, भूकम्पमा सात हजार ५५३ विद्यालय क्षति भएको थियो ।” गुणस्तरीय शिक्षासमेत स्थानीय सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै उनले महानगरले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न लाग्नुपर्ने बताए ।

महानगरपालिकाका प्रमुख महर्जनले विद्यालय निर्माणमा गुणस्तरीयता कायम गर्न निर्माण कम्पनीलाई अनुरोध गरे । ‘‘ललितपुर महानगरभित्र निर्माण हुने कुनै पनि भवनको गुणस्तरमा सम्झौता हुँदैन”, उनले भने, “यसले महानगरको पहिचान स्थापित गर्नाका साथै सुरक्षितसमेत बनाउँछ ।”

विद्यालयका प्रधानाध्यापक ईश्वरमान बज्राचार्यले भूकम्पका बेला विद्यालय क्षतिग्रस्त भएपछि विद्यार्थीलाई अस्थायी टहरामा राखेर अध्यापन गराएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण महर्जनले विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारका लागि महानगरको सहयोग महत्वपूर्ण रहेकामा जोड दिए । अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरीले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न स्थानीय सरकारले भूमिका खेल्नुपर्ने बताए ।

विद्यालय भवन निर्माणका लागि करीब रु १८ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ । तीन वटा ब्लकमा बन्ने भवनमा २७ वटा कोठा रहनेछ । भवन २१ महीनाभित्रै निर्माण सम्पन्न हुने विद्यालयले जनाएको छ । विद्यालयको भवन निर्माणको जिम्मा लामा एण्ड खुस्बुु जेभी कम्पनीले पाएको छ ।

Loading...