काठमाडौं ।
उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने भ्रमणका लागि आज चीन जाँदैछन् । उनी बिहान एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु जाने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
सिचुवान प्रान्तको राजधानी छेन्दुमा भोलीदेखि हुने ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन जान लागेका हुन् । उनले अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले ‘एक क्षेत्र एक मार्ग’(बीआरआई)सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
चीनमा रहँदा उनीसँग चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने तय भएको छ । उपराष्ट्रपति चीनको भ्रमण सकेर ८ गते स्वदेश फर्किनेछन ।
२०७५ भदौ ३ मा प्रकाशित ।