जनकपुर ।
जितेन्द्र सोनल प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री हुन् । मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा)का महामन्त्री सोनललाई संविधानको विरोधमा आयोजित कालो दिवसका लागि पार्टीले सप्तरीको कमान्ड सुम्पेको छ ।
सोमबार उनलाई भेट्न सिंचाइका प्राविधिक र कर्मचारीको मन्त्रालयमा ताँती लागेको थियो । मन्त्री सोनल भने कालो दिवसको तयारीमै व्यस्त थिए ।
मन्त्रालयको कार्यकक्षबाटै मन्त्री सोनलले संविधान विरोधी गतिविधि गर्न फोनमा नेतारकार्यकर्तालाई दिइरहेको निर्देशन सुनेर उनलाई भेट्न गएका कर्मचारी छक्क परे ।
मन्त्री सोनलले कमान्ड सम्हालेको सप्तरीका राजपाका नेतारकार्यकर्तालाई विरोध र्याली र मंगलबार साँझको ब्लायक आउट सफल बनाउन तारन्तार फोन गरिरहेका थिए ।
संविधान दिवसको अवसरमा कालो दिवस भन्दा संविधानमा रहेको असहमति दर्ज गर्न खोजेको मन्त्री सोनलले बताए । ‘मधेसी र मधेसलाई संविधान स्वीकार्य छैन, ’ मन्त्री सोनलले भने, ‘असोज ३ गते हातमा कालोपट्टि र टाउकोमा कालो कपडा बाँधेर संविधानमा विरोध दर्ज गराउने छौँ ।’
मन्त्री सोनल भने संविधान जारी भएको दिन सुनौलो दिन रहेको स्वीकार गर्छन् । तर फेरि भन्छन्, ‘संविधान जारी भएको दिन हामीलाई जेलमा कोच्यो,’ सोनलले भने, ‘हातमा हतकडी लागेको दिन हाम्रो लागि सुनौलो भएन । कालो दिन बनाइयो ।’ उनले मधेसीको हक अधिकारका लागि मन्त्री भएपनि आन्दोलनमै रहेको दाबी गरे । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
२०७५ असोज ३ मा प्रकाशित ।