धमाधम परमाणु परीक्षण केन्द्र नष्ट गर्दै उत्तर कोरिया

काठमाडाैं । उत्तर कोरियाले आफ्नो परमाणु परीक्षणा गर्ने प्रमुख क्षेत्रको केही भाग नष्ट गर्न सुरु गरेको छ । उत्तर कोरियाले देशको उत्तर–पश्चिममा रहेको सोहाए परमाणु परीक्षण केन्द्रको केही भाग नष्ट गर्न सुरु गरेको हो ।

अमेरिकाको निगगरानी समूह ३८ नर्थले जारी गरेको स्याटेलाइट तस्बिरमा सोहाए स्टेशनको केही भाग नष्ट गर्न सुरु गरेको देखिएको छ । गएको जुनमा सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिचको वार्तामा भएको सहमति अनुसार उत्तर कोरिया अघि बढेको देखिएको छ । त्यो ऐतिहासिक वार्तामा उत्तर कोरिया परमाणु निशस्त्रिकरणका लागि राजी भएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका नेता किम परमाणु परीक्षणका केन्द्र नष्ट गर्न प्रतिबद्ध रहेको बताएका थिए, तर कुन चाहिँ भन्ने खुलाएका थिएनन् । उत्तर कोरियाले सोहाएलाई स्याटेलाइट परीक्षण केन्द्रको रुपमा प्रयोग गर्दै आएको बताउने गरेको थियो । तर अमेरिकाले भने यो केन्द्रबाट ब्यालेस्टिक मिसाइल नै परीक्षण हुने गरेको आशंका गर्दै आएको छ ।

गएको जुन १२ मा सिंगापुरमा भएको वार्तामा ट्रम्प र किम दुई देशको हित तथा विश्व शान्तीका लागि मिलेर काम गर्न सहमत भएका थिए । यस्तै कोरियाली प्रायद्धिपलाई पूर्ण रुपले परमाणु हतियार मुक्त बनाउने सहमति पनि भएको थियो । तर दुई नेताले हस्ताक्षर गरेको सहमति पत्रमा प्रक्रियाको विस्तृत विवरण भने थिएन । यसले गर्दा विभिन्न क्षेत्रकाट आलोचना पनि हुँदै आएको छ ।

ट्रम्प र किमबिचको वार्तापछि पनि दुई देशका उच्च अधिकारीबिच यस विषयमा बारम्बार छलफल हुँदै आएको छ । यो बिचमा केही असन्तुष्टिहरु पनि आएका थिए । तर अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार ट्वीट गर्दै उत्तरु कोरियासँगको सम्बन्धमा हुँदै गएको सुधारले आफू धेरै खुशी रहेको बताएका थिए । यसको अर्थ उत्तर कोरियाले परमाणु निशस्त्रिकरण प्रक्रिया औपचारिक रुपमा सुरु गरेको हुनु पर्छ भन्ने पनि धेरै छन् ।

उत्तर कोरियाले पछिल्लो ९ महिनादेखि मिसाइल परीक्षण वा अरु कुनै परमाणु परीक्षण गरेको छैन । उत्तर कोरियाले अहिलेसम्म ६ वटा परमाणु परीक्षण गरेको छ । पछिल्लो पटक गएको वर्षको सेप्टेम्बरमा उसले परमाणु परीक्षण गरेको थियो ।

Loading...