काठमाडौं, ३ बैसाख । उत्तर कोरियाले अमेरिकासँग हुन लागेको वार्ता रद्द गर्ने धम्की दिएको छ । उत्तर कोरियाको आणविक कार्यक्रम रद्द गर्नुपर्ने जिद्दी अमेरिकाले गरिरहेकाले अमेरिकासँगको वार्ताबारे सोच्नुपर्ने उत्तर कोरियाले जनाएको हो ।
उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता आउँदो जुन १२ मा सिंगाापुरमा हुने तय भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले मिति र स्थानका बारेमा ट्वीट गर्दै जानकारी दिएका थिए । तर उत्तर कोरियाको पछिल्लो प्रतिक्रियाले बैठक अनिश्चित भएको छ ।
बैठक उत्तर कोरियाको आणविक कार्याक्रम रद्द गर्ने विषयमा हुने बताइएको थियो । उत्तर कोरियाले बुधबार दक्षिण कोरियाका अधिकारीसँग हुने वार्ता पनि पछि सारेको जनाएको छ । दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यास हुने भनिएपछि उत्तर कोरियाको पछिल्लो प्रतिक्रिया आएको हो ।
उत्तर कोरियाका सहायक विदेश मन्त्री किम के ग्वाङले अमेरिकाले एकतर्फी रुपमा उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न भनेकाले र आफूहरु त्यस्तो एकपक्षीय कुरा मान्न तयार नभएको बताएका छन् । उनले अमेरिकाले लापरवाही रुपमा विज्ञप्तिहरु सार्वजनिक गर्न थालेकाले आउँदो बैठकबारे सोच्ने बेला आएको बताएका हुन् ।
उत्तर कोरियाका नेता किम जोङ उनले आफूले उत्तर कोरियासँगको सम्बन्ध सुधार गर्न चाहे पनि अमेरिकाको पछिल्ला गतिविधि र भनाईले सम्बन्ध बिथोल्न सक्ने बताएका छन् । उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास उत्तेजक भएको र यसले कूटनीतिमा असर पार्ने बताएको छ । उत्तर कोरियाको पछिल्लो अभिव्यक्तिले अमेरिका पनि झस्केको बताइएको छ ।