कृष्ण ओली, नेपालगन्ज ।
करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण भएको छ । अज्ञात समुहले बाँकेका विभिन्न २ स्थानमा रहेका टावरमा आगजनी गरेको छ ।
खजुरा गाउँपालिका ८ रनियापुर र बैजनाथ गाउँपालिका ६ जि गाउँमा रहेको एलसेलको टावरमा अज्ञात समुहले शनिबार राती आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक बहादुर तामाङले जानकारी दिए ।
एसपी तामाङका अनुसार आगजनीबाट दुवै टावरमा राखिएका जेनेरेटरमा आंशिक क्षती पुगेको छ । रनियापुरको टावरमा शनिबार राती साढे १० बजेतिर अज्ञात समुहले आगजनी गरेको थियो भने जि गाउँको टावरमा पौने १२ बजेतिर आगजनी गरिएको प्रहरीले जनाएको छ । अज्ञात समुहले आगजनी गरे पनि समयमै पुगेको प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।
टावरका महत्वपूर्ण उपकरणहरुमा क्षति नपुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म कुनैपनि समूहले घटनाको जिम्मा लिएको छैन । विप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने बाँके प्रहरीले आंशका गरेको छ ।
प्रहरी प्रमुख एसपी तामाङले भने, अहिलेसम्म घटनाको कसैले जिम्मेवारी लिएको छैन, घटनामा सग्लनहरुको खोजी कार्य जारी छ । यसअघि राज्यलाई तिर्न बाँकी पुरै कर नतिरेको एलसेलमाथि नेकपाले चरणबद्धरुपमा कारवाही गरेको थियो ।
२०७५ बैसाख ३० मा प्रकाशित ।