काठमाडौं, २२ बैसाख ।
सिन्डिकेटको पक्षमा उभिएर यातायात बन्दको घोषणा गरेको यातायात व्यवसायी महासंघले बन्द फिर्ता लिएको। महासंघले वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न सरकारसँग आग्रहसमेत गरेको छ ।
यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति जारी गर्दै बन्द कार्यक्रम फिर्ता भएको घोषणा गरेका हुन् ।
सिन्डिकेट हटाउन नहुने माग गर्दै महासंघले शुक्रबार सार्वजनिक यातायात बन्दको घोषणा गरेको थियो । व्यवसायीले यातायात बन्द गरेसँगै सरकार त्यसविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको थियो । यातायात व्यवसायी महासंघमा आबद्धलाई पक्राउ गर्नेदेखि रुट खारेजीसम्मको निर्णय सरकारले गरेको थियो ।
सरकार र यातायात व्यवसायीबीच द्वन्द्व बढिरहेका बेला संघर्षरत यातायात व्यवसायी महासंघले बन्दलगायतका संघर्षका कार्यक्रम फिर्ता लिएको हो ।
महासंघले देशभरका यातायात संघ, संस्था, प्रालिका पदाधिकारी, व्यवसायी, कर्मचारी तथा मजदुरहरुलाई धरपकड तथा पक्राउ गरिएको प्रति आपत्ति जनाउँदै उनीहरुलाई विना शर्त रिहाइ गर्न माग गरेको छ ।