काठमाडौं, १२ वैशाख । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयमा बयान दिइरहेका डिएसपी सञ्जय राउत एक्कासि बेपत्ता भएका छन् ।
बयान नसकिँदै मंगलबार अपरान्ह राउत बेपत्ता भनेपछि घटनामा नयाँ रहस्यमय मोड आएको छ भने छानविन समितिका सदस्यहरूमाथि शंका उब्जिएको छ । उनी बयान नसकिँदै अचानक फरार भएपछि पक्राउ गर्न गृह मन्त्रालयमा रहेको प्रहरी अधिकारी परिचालन गरिएको स्रोतले जनाएको छ ।
सुन तस्करीका मुख्य नाइके चुणामणि उप्रेती ‘गोरे’ले तस्करी गरेर ल्याएको ३३ किलो सुन हराएपछि यातना दिने क्रममा मोरङ उर्लाबारीका सनम शाक्यको मृत्यु भएको थियो । घटनामा प्रहरीको भूमिका शंकास्पद भन्दै गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको समितिले छानविन गरिरहेको छ ।
राउतलाई भगाउन छानविन समितिका डिएसपी सुदीप पाठकले भूमिका खेलेको शंका गरिएको छ । राउत बेपत्ता भएपछि नाटकीय ढंगले ‘कहाँ गयो राउत’ भन्दै मन्त्रालयको गेटमा आएर पाठक फर्किएका थिए । डिएसपी पाठक उनै प्रहरी अधिकारी हुन, जो टीकापुरमा डीएसपी हुँदा प्रहरी हवल्दार ताराबहादुर ठकुल्लाको नाममा से १ च १८१० नम्बरको चोरीको हुन्डाई क्रेटा कार दर्ता गरी प्रयोग गरेका थिए । डिएसपी पाठकले चोरीका गाडी यातायातमा कीर्ते कागजात बनाई बिक्री गर्ने मुख्य गिरोहलाई संरक्षण दिएका थिए ।
स्रोतका अनुसार डिएसपी पाठकले ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा मुख्य भूमिका खेलेका अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीलाई अनुसन्धानको सूचना चुहाएर जोगाउने खेलमा लागेको आरोप छ ।
सई बालकृष्ण सञ्जेलले आफूले एसएसपी लोहनी र डिएसपी प्रजित केसीको निर्देशनमा सबै काम गरेको बयान दिँदा समेत लोहनीलाई अहिलेसम्म पनि पक्राउ गरिएको छैन । समितिमा रहेका डिएसपी पाठक र इन्स्पेक्टर भीष्म हुँमागाईले प्रलोभनमा परेर राजनीतिक नेतृत्व र प्रहरीका केही उच्च अधिकारीहरूको दवावमा काम गरेको आरोप पनि छ ।
पाठक र हुमागाईको डिजाइनमा लोहनीलाई जोगाउने गरी प्रतिवेदेन तयार पार्ने हुन् कि भन्ने आशंका हुन थालेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख समेत रहेका डिएसपी राउतको बयानबाट एसएसपी लोहनी फस्ने अवस्था देखिएपछि डिएसपी राउतलाई मिलेमतोमा भगाईएको हुन सक्ने स्रोतको दाबी छ ।