कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, पदाधिकारी प्रस्तावको सम्भावना

काठमाडौं, ९ बैसाख ।

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै छ । वैठकले रिक्त पदाधिकारी प्रस्ताव गर्ने तयारी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज बस्ने पार्टी केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी प्रस्ताव गर्ने तयारी गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार पार्टी कार्यालय सानेपामा बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने कार्यसूची रहेको जानकारी दिए ।

पौडेलका अनुसार, केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव राख्ने सम्भावना छ ।

कांग्रेसको विधानमा निर्वाचित केन्द्रीय सदस्यहरुमध्येबाट १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री सभापतिले मनोनित गर्ने प्रावधान छ । २ महिनाभित्र पार्टी सभापतिले पदाधिकारी मनोनित गर्नुपर्ने भए पनि देउवाले २ वर्ष गुज्रिनै लाग्दासमेत गरेका छैनन् ।

नेतृत्वको सुस्त कार्यशैलीको पार्टीभित्र चर्को आलोचना भइरहेका बेला देउवाले मनोनयनको तयारी गरेका हुन् । तथापि उनले पदाधिकारी मनोनयन सहमतिमा हुनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले माग गरे पनि कुनै छलफल गरेका छैनन् ।